फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानीको अवसर छोप्न हङकङका नेपालीलाई चीनका लागि नेपाली राजदूत पौडेलको आग्रह

(GMT+08:00) 2017-07-01 16:08:37

       चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले हङकङका नेपालीहरूलाई देशलाई गाली गर्न छोडेर लगानीको अवसर छोप्न आग्रह गर्नुभएको छ। नेपालमा लगानीको समसामयिक वातावरण र लगानीका लागि सम्भावित आयोजना विषयक हङकङमा आयोजित एक अन्तर्क्रियामा उहाँले गालीको साटो नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो। हङकङस्थित नेपाली महावाणिज्यदूतावास र नेपाल लगानी बोर्डको संयुक्र आयोजनामा भएको सो अन्तर्क्रियाका प्रमुख अतिथि राजदूत पौडेलले सहभागीहरुको जिज्ञासाको उत्तर दिँदै नेपाल लगानीकर्ताहरुको लागि स्वर्ग भएको बताउनुभयो।

        'जहाँ अभाव र आवश्यकता हुन्छ, त्यहाँ अवसर पनि हुन्छ,' राजदूत पौडेलले भन्नुभयो, 'बाटोघाटो छैन त बनाउने अवसर छ। ग्राहकहरु मीठो खाना चाहन्छन्, तर पाएका छैनन्, त्यस्ता ठाउँमा मीठो परिकारवाला होटल–रेस्टुरेन्ट खोल्नुस्, बिजुली छैन, हाइड्रोमा लगानी गर्नुस्। बरु तपाइँ लगानीकर्ताहरुले राज्यबाट केके चाहनु हुन्छ लेखेर दिनुहोस्, हामी सम्बन्धित निकायमा तदारुकताका साथ पुर्‍याउने छौँ। तसर्थ नेपाल खत्तम छ भनेर देशलाई गाली नगर्नुस्, यही खत्तम भित्र उत्तम अवसरहरु छन्, तपाइँहरु यो अवसरलाई समात्नुहोस्।'

         हङकङस्थित नेपाली र चिनियाँ लगानीकर्ताहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमको औचित्यबारे हङकङका महावाणिज्यदूत कमल प्रसाद भट्टराईले प्रकाश पार्नुभएको नेपाल खबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु