फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेनाद्वारा अन्तर्राष्ट्रियस्तरको ट्राई–म्याराथन आयोजना

(GMT+08:00) 2017-07-02 14:07:08

त्रिशूली नदी किनारमा शनिबार नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरको ट्राई–म्याराथन आयोजना गरेको छ। धादिङको बैरेनीदेखि चरौंदीसम्म उक्त प्रतियोगिता भएको हो। गल्छी–बैरनीबाट सुरु ६.१ किमि दौड, कल्लेरीबाट २६ किमि साइक्लिङ र चरौंदी मालिगाबाट जोगीमारासम्म ११ किमि र्‍याफ्टिङ गरिएको थियो। अमेरिकी, बंगलादेशी सेना, ब्रिटिस गोर्खा सैनिक, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, द हिमालयन गल्र्स र काठमाडौंका विभिन्न स्पोर्ट्स क्लबका ४८ खेलाडीले भाग लिएको ईकान्तिपुर अनलाईनले जनाएको छ।

'यो ट्राई–म्याराथनमा एउटै समूहले दौड, साइक्लिङ र र्‍याफ्टिङ गर्नुपर्ने हुन्छ,' गजुरीस्थित देवीदत्त गणका गणपति भरत बुढाथोकीले भन्नुभयो।

त्रिशूली किनारमा वर्षातको भेलमा गरिने यो साहसिक खेलकुद प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई–म्याराथनको नाममा ४ वर्षयता हुँदै आएको हो। विगतका वर्षमा राष्ट्रिय स्तरका खेलाडी मात्रै समावेश हुन्थे । यसपल्ट अन्र्तराष्ट्रिय रूपमै आहान गरेपछि ८ नेपाली टिम र ४ विदेशी टिम सहभागी भएका थिए।

त्रिभुवन आर्मी क्लबका मानबहादुर थापाको 'ए' टिम समग्रमा ४३.१ किलोमिटर २ घण्टा १८ मिनेट १ सेकेन्डमा पूरा गरी च्याम्पियन भएको छ। काठमाडौं वाईक स्टेसनका हिमाल टमाटाको टिमले २ घण्टा २७ मिनेट ४७ सेकेन्डबाट दोस्रो स्थान हासिल गर्‍यो। आर्मी क्लबकै राजेन्द्र चेम्जोङको टिम २ घण्टा २८ मिनेट २५ सेकेन्डका साथ तेस्रो भयो। विजेताले डेढ लाख नगद पुरस्कार र सिल्ड जित्यो। दोस्रोले एक लाख र तेस्रोले ७५ हजार नगद पुरस्कार जितेका छन्। विजेतालाई कामु प्रधानसेनापति बलदेवराज महतले पुरस्कृत गर्नुभयो।

जानकारी तथा लेखहरु