फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वायु सेवा निगमले थप जहाज लिजमा लिने

(GMT+08:00) 2017-07-03 16:09:54

नेपाल वायु सेवा निगमले आगामी वर्ष दुईवटा ठूला जहाज (वाइडबडी) किनेपछि भाडा (लिज) मा थप जहाज ल्याउने भएको छ। निगमले 59 वर्ष पूरा गरेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा निगमका प्रमुख कार्यकारी अधिकृत सुगतरत्न कंसाकारले अबका दिन जहाज खरिद नगरिने नीति लिइएको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। 'संसारमा थोरै मुलुक छन् जो हामीले जस्तै 9/10 प्रतिशत ब्याजमा ऋण उठाउँदै जहाज किन्छन्' उहाँले भन्नुभयो, 'ब्याजको भारसमेत बढ्दै जाने भएका लिजमा लिने तयारी हो।' उहाँले वाइडबडी आइसकेपछि लिजमा आवश्यकताअनुसार लिजमा जहाज ल्याउनुपर्ने बताउनुभयो। 'यदि निगमको भविष्य उज्ज्वल बनाउने हो भने अब लिज पर्चेज वा लिज फाइनान्स विधिमा जानैपर्छ,' उहाँले भन्नुभयो। निगमले अहिले दुइटा वाइडबडी जहाज किन्न 24 अर्ब ऋण लिइसकेको छ। यसअघि खरिद गरिएका चिनियाँ विमान र दुइटा एयरबस पनि निगमले ऋण उठाउँदै किनेको हो।

निगम सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन सचिव शंकरप्रसाद अधिकारीले पनि 9 प्रतिशत ब्याजमा ऋण लिएको निगमले आगामी दिनमा ज्यादै आर्थिक भारको चुनौती सामना गर्नुपर्ने बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको निजी कम्पनी हिमालय एयरलाइन्सले हाल उडाउँदै आएका तीनवटा एयरबस ए 320 लाई 12 वर्षको ड्राइलिज मा ल्याएर चलाइरहेको छ।

लिज प्रक्रियाबाट जहाज ल्याउने प्रक्रियाबारे एयरलाइन्सका कर्मचारीहरू भने सकारात्मक छैनन्। लाउडा विमानको लिज प्रकरणमा निगमले 1 अर्ब 62 करोड हाराहारी रकम घाटा बेहोरेको थियो। त्यसलाई सरकारले पुँजीकृत गर्नुपर्ने अहिले पनि कर्मचारी संगठनहरूले माग गर्दै आएका छन्। शनिबार पनि एउटा संगठनका नेताले यसलाई पुँजीकरण गरिनुपर्नेबारे बोलेका थिए। तर, प्रमुख कंसाकारले 10/12 प्रतिशतमा ऋण उठाउँदै जहाज किन्ने प्रक्रियालाई थाती राख्दै कर्मचारीहरूलाई लिज अवधारणाबारे नकारात्मक नहुन आग्रह गर्नुभयो।

निगमले पनि आफ्नो खरिद कार्यविधिमा यो अवधारणा राखिसकेको छ। तर, यो पारित भने भइसकेको छैन। निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द पनि लिज प्रक्रियाबाट जहाज ल्याउँदा वित्तीय निकायबाट लिइने ऋणको तुलनामा आर्थिक भार धेरै कम पर्ने बताउनुहुन्छ। 'लिजमा सुरुमा 20/25 प्रतिशत टोकन मनी बुझाएपछि आर्थिक भार पर्दैन त्यसपछि त्यही जहाजले कमाउँदै गर्छ, किस्ता तिरी रहनुपर्छ,' चन्दले भन्नुभयो।

निगमले दुई वर्षअघि 12 प्रतिशत ब्याजदरमा 10 अर्ब ऋण लिई दुइटा एयरबस ए320 न्यारोबडी जहाज किनेको थियो। यी दुई विमानको प्रतिकिस्ता 32 करोड हाराहारी तिर्नुपर्छ। हालसम्म निगमले 5 किस्ता मात्रै तिरेको छ।

प्रमुख कार्यकारी अधिकृत कंसाकारले अहिले अन्तर्राष्ट्रिय उडानमा वार्षिक 1 खर्बको कारोबार हुने गरेको बताउँदै दुइटा वाइडबडी विमान थपिएपछि आफ्नो संस्थाको बजार हिस्सा 7 प्रतिशत हाराहारीले बढ्ने दाबी गर्नुभयो। 'एक खर्बको वार्षिक कारोबारमा हाम्रो बजार हिस्सा 10/12 प्रतिशत हाराहारी पुग्यो वाइडबडी थपिएपछि 17 प्रतिशतसम्म पुग्नेछ,' कंसाकारले भन्नुभयो।

हीरक जयन्ती (60 वर्ष) प्रवेश वर्षका रूपमा आयोजित समारोहमा यसपटक निगमले 14 सय कर्मचारीमध्येबाट वर्षकै सर्वोत्कृष्ट कर्मचारीका रूपमा निगमको चिनियाँ विमान उडाउने क्याप्टेन उद्धव घिमिरेलाई पुरस्कृत गर्‍यो। उनलाई दुई तोला सुन राखिएको मेडलसहित निगमका अध्यक्ष तथा पर्यटन सचिवले पुरस्कृत गरेका थिए।

क्याप्टेन घिमिरेले पाइलट अभावका बेला पनि उक्त सानो विमानबाट हुने पोखरा, भैरहवा र सिमराको उडान नियमित गरेका कारण उनलाई निगमले सबैभन्दा उत्कृष्ट कर्मचारी घोषणा गर्दै पुरस्कृत गरेको हो।

http://kantipur.ekantipur.com/news/2017-07-02/20170702090047.html

जानकारी तथा लेखहरु