फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपराष्ट्रपति काठमाडौँबाट चीन प्रस्थान

(GMT+08:00) 2017-07-04 16:07:53

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौँबाट चीन प्रस्थान गर्नु भएको छ। चीनले आयोजना गरेको '23 औँ चीन–लान्चौ लगानी तथा व्यापार मेला'मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नु भएको हो। सो मेला चीनको कान्सु प्रान्तको सदरमुकाम लान्चौमा आयोजना हुने नेपाल खबर अनलाइनले लेखेको छ।

उपराष्ट्रपति पुन बिहान आज बिहान 10: 40 मा एयर चाइनाको बिमानमार्फत चीन प्रस्थान गर्नु भएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो। उपराष्ट्रपति पुनले यही असार 22 गते विकास र सहयोगका लागि उच्चस्तरीय मंचमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले सोमवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उपराष्ट्रपतिको सम्बोधन बहुचर्चित सिल्क रोड (रेशम मार्ग) र सहयोगका विविध आयामका बारेमा केन्द्रित रहने बताइएको छ।

चीनका व्यवसायी एवं उद्योगीसँग 'नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान' विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार 23 गते सम्बोधन गर्ने तथा लान्चौमा रहँदा उपराष्ट्रपति पुनले उच्च चिनियाँ नेता एवं अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उपराष्ट्रपति पुनले चीनको पल्लो शान्षी प्रान्तको सियान र युनानको समेत भ्रमण गर्नुहुनेछ। सो अवसरमा उपराष्ट्रपतिसँग उक्त प्रान्तका नेताहरुले शिष्टाचार भेटवार्ता गर्नेछन्।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी श्रीमती हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता रहेको छ। उपराष्ट्रपति पुन यही असार 26 गते स्वदेश फर्कनुहुनेछ।

जानकारी तथा लेखहरु