फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्कमा भारत सकारात्मक रहेको नेपालका परराष्ट्रमन्त्रीको भनाइ

(GMT+08:00) 2017-07-05 15:48:49

भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी शिखर सम्मेलन छिटो गराउन भारत सकारात्मक बनेको नेपालका परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। भारतको औपचारिक भ्रमणबाट फर्कनु भएका परराष्ट्रमन्त्री महराले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्नुभयो, 'सार्कको स्थगित 19 औं शिखर सम्मेलन गर्ने विषयमा भारत सकारात्मक छ।'

महराको भारत भ्रमणका प्रमुख एजेन्डामध्ये सार्क शिखर सम्मेलन र त्यसअघि गर्नुपर्ने मन्त्रीस्तरीय बैठकको पहल गर्ने पनि थियो। इस्लामाबादमा हुने 19 औं शिखर सम्मेलनको अन्तिम तयारी चलिरहँदा भारतले वर्तमान अवस्थामा आफू आउन नसक्ने बताएपछि सम्मेलन रोकिएको थियो। भारतको पक्षमा बंगलादेश, भुटान, अफगानिस्तान र श्रीलंका पनि उभिएका थिए।

19 औं शिखर सम्मेलन कात्तिक 30 र मंसिर 1 (नोभेम्बर 15–16, 2016) लाई तोकिएको थियो। पछिल्लो समय भारतले सार्कको सट्टा अर्को क्षेत्रीय संगठन बिमस्टेकलाई बढी महत्त्व दिएको विश्लेषकहरूले बताइरहेका छन्। गत वर्षको भदौमा गोवामा सम्पन्न 'ब्रिक्स' (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलनमा बिमस्टेक राष्ट्रका कार्यकारीलाई निम्त्याइएपछि सार्कभन्दा बिमस्टेक महत्त्वमा परेको अनुमान गर्न थालिएको हो। नेपाल अहिले सार्क र बिमस्टेक दुवै संगठनको अध्यक्ष राष्ट्र हो।

यसअघि सार्क सम्मेलन वर्षैपिच्छे हुन नसकेपछि दुई–दुई वर्षमा गर्ने तर नसार्ने निर्णय गरिएको थियो। निर्णयपछिको पहिलो सम्मेलन नै नियमित हुन नसकेपछि सार्कको भविष्यमाथि नै चिन्ता व्यक्त भइरहेको छ। कुनै एक सदस्य राष्ट्र मात्रै उपस्थित नभए सार्क स्थगित हुन्छ।

भारतको पक्षमा अन्य मुलुक पनि उभिएलगत्तै आयोजक राष्ट्र पाकिस्तानले सम्मेलन स्थगनको घोषणा गरेको थियो। बिमस्टेक अध्यक्ष राष्ट्रको परराष्ट्रमन्त्रीका हैसियतले महराले भारतीय समकक्षी सुष्मा स्वराजलाई बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन आमन्त्रण समेत गर्नु भएको छ। उहाँको निम्तो स्विकार्दै अगस्ट दोस्रो साता काठमाडौंमा हुने विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन स्वराज सहमत भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। पाकिस्तानमा हुने 19 औं शिखर सम्मेलनपछि सार्कको अध्यक्षता हस्तान्तरण गर्ने र बिमस्टेकको शिखर सम्मेलन काठमाडौंमा गर्ने तयारी नेपालको छ।

महराले आफ्नो तीनदिने औपचारिक भारत भ्रमणले नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ भएको दाबी गर्नुभयो। 'दुई मुलुकबीच आर्थिक–सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवं सहमतिलगायत चालु परियोजनाको समयबद्ध र सफल कार्यान्वयन गर्ने तथा सहयोगका नयाँ क्षेत्र पहिचान गर्ने कुरा भएको छ,' महराले भन्नुभयो।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे पनि छलफल भएको र भ्रमणको मिति आपसी छलफलबाट तय गरिने बताउनुभयो। भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास–परियोजना कार्यान्वयनलाई थप गति दिने, व्यापार–असन्तुलन कम गर्ने, नेपालको निर्यात बढाउने लगाउनेलगायत आपसी विश्वास तथा मैत्री सम्बन्धलाई प्रगाढ पार्न सहयोग पुगेको पनि उहाँले खुलाउनुभयो।

देउवाको भ्रमण र क्षेत्रीय संगठनका अलावा महराले नेपाललाई संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा सघाउनसमेत आग्रह गर्नुभयो। भारतलाई मात्र होइन, दिल्लीबाट नेपाल हेर्ने मित्र मुलुकका दूतावास प्रतिनिधिसँग अन्तक्र्रिया नै गरेर उनले परिषद्मा नेपालको उम्मेदवारीमा सघाउन आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु