फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निजी आवास निर्माणले गति लिँदै

(GMT+08:00) 2017-07-05 15:53:13

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै भूकम्प पुनर्निर्माणले गति लिन थालेको छ। निर्वाचन सम्पन्न भएपछि भूकम्प अति प्रभावित 14 जिल्लामा घर निर्माण सुरु गर्ने लाभग्राहीको संख्या बढ्ने क्रममा देखिएको नागरिक अनलाइनले लेखेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्यांकमा गत चैत मसान्तसम्म 47 हजार नौ सय 33 लाभग्राहीले निजी आवास निर्माण सुरु गरेका थिए। यो संख्या आइतबार (असार 11)सम्म 94 हजार दुई सय 45 पुगेको छ। यस अवधीमा घर निर्माण सुरु गर्नेको सूचीमा 46 हजार तीन सय 12 लाभग्राही थपिएका छन्।

पछिल्लो तथ्यांकअनुसार घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या 28 हजार सात सय 57 पुगेको छ। चैत मसान्तसम्म यो संख्या 21 हजार 6 सय 19 थियो। यो सूचीमा पछिल्लोपटक सात हजार एक सय 38 जना थपिएका हुन्।

त्यस्तै, चैत 27 मा दोस्रो किस्ताको लागि निवेदन दिने लाभग्राही संख्या 30 हजार आठ सय 54 रहेकोमा आइतबारसम्म यो संख्या 58 हजार एक सय 21 पुगेको छ। तीमध्ये दोस्रो किस्ता भुक्तानीका लागि 44 हजार लाभग्राहीको प्रमाणिकरण सम्पन्न भएको एकाईको तथ्यांक छ।

आइतबारसम्म तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राही संख्या तीन हजार पाँच सय सात पुगेको छ। चैत 27 मा यो संख्या एक हजार पाँच सय 57 थियो।

पछिल्लो समय दोस्रो किस्ताको अनुदान लिने लाभग्राहीको संख्या बढ्ने क्रमले गति लिएको देखिन्छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको तथ्यांक अनुसार पछिल्लो दुई हप्ता दोस्रो किस्ता लिने लाभग्राही सूचीमा आठ हजार तीन सय 75 जना थपिएका छन्। एकाइको तथ्यांकमा जेठ 29 गतेसम्म 25 हजार एकजनाले दोस्रो किस्ता लिएका थिए। आइतबार (असार 11) सम्म यो संख्या 33 हजार तीन सय 76 पुगेको छ।

पछिल्लो तथ्यांकअनुसार 14 जिल्लामा तेस्रो किस्ता लिने लाभग्राही संख्या एक हजार आठ सय 14 पुगेको छ। जेठ 29 मा यो संख्या एक हजार चार सय 96 थियो।

त्यस्तै, यस अवधिमा पहिलो किस्ताको 50 हजार रुपैयाँ बु‰ने लाभग्राही सूचीमा एक हजार पाँच सय 44 जना थपिएका छन्। आइतबारसम्मको तथ्यांकअनुसार पाँच लाख 63 हजार एक सय 58 जनाले पहिलो किस्ता बुझेका छन्। पहिलो किस्ता भुक्तानीका लागि पाँच लाख 57 हजार चार सय 61 जनासँग अनुदान सम्झौता सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको तथ्यांक छ।

लाभग्राही सूचीमा परेका भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ। लाभग्रहीलाई पहिलो किस्तामा 50 हजार, दोस्रो किस्तामा एक लाख 50 हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ प्रदान गर्ने प्राधिकरणको निजी आवास निर्माण अनुदान वितरण कार्यविधिमा उल्लेख छ। तर, पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर बनाउन सुरु नगरेका कारण दोस्रो किस्ताको रकम वितरण हुन सकेको छैन। घर बनाउन सुरु गरेकामध्ये केहीले तोकेको मापदण्ड पूरा नगरेका कारण दोस्रो किस्ता लिन नपाएको प्राधिकरणले जनाएको छ।

जानकारी तथा लेखहरु