फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बिहीबारदेखि राष्ट्रपति रनिङ सिल्ड

(GMT+08:00) 2017-07-06 15:35:41

नेपालको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता आज बिहीबारदेखि सुरु हुँदैछ। केन्द्रीय स्तरको यो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी आठ खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवं राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। सबै खेलमा पाँच विकास क्षेत्रबाट एक सय 42 का दरले सात सय 10 खेलाडी सहभागी हुनेछन्। क्रिकेटमा छात्र टोली मात्र सहभागी हुनेछ।

एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी कीर्तिपुर, तेक्वान्दो पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइनेछ। टिम च्याम्पियनले 25 हजार, उपविजेताले 20 हजार र तेस्रो हुनेले 15 हजार रुपैयाँ प्राप्त गर्नेछन्। एथलेटिक्स, भलिबल र कबड्डीको पदकलाई मात्र निश्चित अंक प्रदान गरी समग्रमा टिम च्याम्पियनको घोषणा गरिनेछ।

व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पाउनेछन्। त्यस्तै पहिलोदेखि तेस्रो हुने टिमका प्रत्येक खेलाडीलाई क्रमशः एक हजार पाँच सय, एक हजार र पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ। तीनदिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रमुख शर्माले जानकारी गराउनुभयो।

जानकारी तथा लेखहरु