फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लानचौ लगानी तथा व्यापार मेलालाई नेपालका उपराष्ट्रपतिद्वारा सम्बोधन

(GMT+08:00) 2017-07-07 16:04:57

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालले चीनबाट अघि सारिएको एक पेटी एक मार्गलाई नेपाल–चीन कनेक्टिभिटी र पूर्वाधार सुधारको एक महत्वपूर्ण अवसरको रूपमा लिएको बताउनु भएको छ। हिजो बिहीबार कान्सु अन्तर्राष्ट्रिय कन्फेरेन्स तथा एक्जिविसन केन्द्रमा 23औं चीन–लान्चौ लगानी तथा व्यापार मेलालाई सम्बोधन गर्दै उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको एक पेटी एक मार्ग अवधारणाले राम्रो प्रगति हासिल गरेको र चीनले आवश्यकताअनुरूप समयानुकूल प्रयास सुरू गरेको बताउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ। उहाँले भन्नुभयो, 'आर्थिक रूपान्तरणका लागि सीमापार सञ्जाल र प्राकृतिक श्रोतको सदुपयोग गर्न लगानी, प्रविधि र दीर्घकालीन सहकार्यको लागि बेल्ट एण्ड रोडमा समेटिएका मुलुकहरूसँग अनुभव आदानप्रदान गर्न नेपाल इच्छुक छ।'

बेल्ट एण्ड रोड इनिसियटिभ्सको अवधारणाले शान्ति, सहकार्य, खुलापन, समावेशी जस्ता साझा एजेण्डालाई प्राथमिकतामा राखेको बताउँदै यसले कनेक्टिभिटीलाई बढाएर व्यापार, लगानी, पर्यटन, जनस्तरमा घनिष्ठ सम्बन्ध तथा साझा अभिरूचीका मुद्धाहरूलाई प्रवर्द्धन गरेकोले तीव्र आर्थिक वृद्धि, सामाजिक-आर्थिक विकासमा समान समृद्धि हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो। सबै साझा लक्ष्यका लागि रेलमार्ग, स्थलमार्ग र हवाइमार्गबाट एकअर्कामा जोडिनु तथा निरन्तर अन्तर्क्रियाको संयन्त्र बनाउनु जरूरी रहेको र यसबाट मात्रै वास्तविक परिवर्तन देख्न सकिने उहाँले बताउनुभयो।

उपराष्ट्रपति पुनले विश्व बैंकको नेपाल प्रक्षेपणदेखि लगानीका लागि वातावरण निर्माण गरिएका उदाहरण प्रस्तुत गरेर हाइड्रोपावर र पर्यटन प्रमुख लगानीका क्षेत्र भएको सुझाव दिनुभयो। चीनले सन् 2017 लाई नेपाल पर्यटन प्रवर्द्धन वर्षको रूपमा लिएर धेरैभन्दा धेरै पर्यटक नेपाल पठाएर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। हाल नेपालमा स्थानीय चुनाव भइरहेको र भविष्यमा बाँकी प्रदेश तथा संसदको चुनाव सम्पन्न भएपछि नेपालको लक्ष्य सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित हुने र त्यतिखेर पर्याप्त लगानी चाहिने सहभागी लगानीकर्ताहरूसमक्ष बताउनुभयो।

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध पञ्चशीलमा आधारित हार्दिक र सहअस्तित्वमा उभिएको तथा नेपालले एक चीन नीतिको समर्थन गरेको उहाँले बताउनुभयो। साथै नेपाली भूमिलाई चीनविरूद्ध प्रयोग हुन नदिने बताउँदै उहाँले नेपालको सार्वभौमिकताको सम्मान गर्ने चिनियाँ नीतिको पनि प्रशंसा गर्नुभयो।

कान्सु प्रान्त प्राचीन रेशमी मार्गको एक भाग मात्रै नभएर पश्चिम चीनको एक व्यापारिक तथा पारवहन हब भएको भन्दै उपराष्ट्रपति पुनले गत वर्ष नेपालको काठमाडौँ र कान्सुको लान्चौ सहरबीच भगिनी सम्बन्ध स्थापित भएपछि आपसी सम्बन्ध जनस्तरमा विकसित भएको बताउनुभयो।

पुनले नेपाल चीनबीच उच्चस्तरीय राजनीतिक आदान प्रदानले सम्बन्ध अझ राम्रो बन्दै गएको कुरा गत मार्चमा नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोआउ एसियाली फोरममा सहभागिता जनाएको र चिनियाँ राष्ट्रपति सी जिनफिङसँग बेइजिङमा भेटवार्ता गरेबाट पुष्टि भएको बताउनुभयो। नेपालमा गएको 2072 वैशाख 12 को भूकम्पपछिको पुनर्निर्माणमा 3 अर्ब आरएमबीभन्दा बढी चिनियाँ सहयोगको पुनले प्रशंसा गर्नुभयो।

गत वर्ष कुन्मिङमा भएको चीन दक्षिण एशिया एक्स्पोमा सहभागी हुन चीन भ्रमण गरेका उपराष्ट्रपति पुन दोश्रो पटक सोही प्रकृतिको व्यापार मेलामा सहभागी हुन चीन भ्रमणमा आउनु भएको हो।

23औं लान्चौ लगानी तथा व्यापार मेलाको मुख्य नारा 'एक पेटी एक मार्गको संयुक्त निर्माण, साझा विजय र मैत्रीपूर्ण विकासको प्रवर्द्धन' भन्ने रहेको छ। मेलाको उद्देश्य ओबीओआर क्षेत्रका मुलुकहरूबीच आर्थिक तथा व्यापारिक आदान प्रदानको थलो निर्माण गर्नु हो भने पश्चिमातर्फको सम्बन्धमा खुलापन बढाउनु हो। लान्चौ लगानी तथा व्यापार मेला 23 औँ सँस्करणमा पुगेपछि चीनले दुईवटा मुलुकलाई थिम मुलुकको रूपमा अतिथि राख्न थालेको हो। पहिलो पटक नेपाल र मलेसियाले यस्तो अवसर पाएका हुन्। यस अवसरमा यी दुई मुलुकका विशेष मण्डप पनि सुरूवात गरियो।

मेलामा विश्वका ख्यातिप्राप्त व्यवसाय, अतिथि मुलुकहरूका बीचमा रेशमी मार्ग सहयोग तथा विकास यात्राका अनेकन गतिविधि समावेश गरिएको छ। आसियान व्यापार तथा लगानी प्रवर्द्धनार्थ एक पेटी एक मार्गका सैयौं व्यापारीमाझ मञ्चहरू संचालन गरिएको छ। यस मेलामा दुई अन्तर्राष्ट्रिय संगठन शाङहाई कोअपरेसन र चीन–आसियान सहित 36 वटा मुलुक तथा 24 घरेलु संस्थाहरू सहभागी छन्।

बुधबार चिनियाँ कम्युनिष्ट पार्टी कान्सु प्रान्तीय सचिव एवं जनकाङ्ग्रेस स्थायी समिति कान्सुका निर्देशक लिन त्वोले लान्चौमा लगानी तथा व्यापार वार्तामा सहभागी हुन आएका विदेशी नेताहरूसँग भेटवार्ता गर्नु भएको छ। चीन सरकार तथा कान्सु प्रान्तीय सरकारका तर्फबाट सहभागीलाई स्वागत गर्दै सन् 1993 देखि 22 पटकसम्म लगातार संचालन भएर चीनको पश्चिमी क्षेत्रले बृहत् परिमाणको अन्तर्राष्ट्रिय तथा व्यवसायिक मापदण्डको मेला सञ्चालन गर्दै आएको बताए।

प्रान्तीय महासचिव छाङ चङ्क्वोको साथमा उपस्थित नेता लिन त्वोले चीनले सँधै नै सदिच्छापूर्ण सहकार्य, साझा फाइदा र साझा विजयको अवधारणालाई अघि सार्दै स्वदेश तथा विदेशमा लगानी तथा आदानप्रदानको वातावरण बनाउन लागिपरेको सुनाउनुभयो।

सो भेटमा विदेशी सहभागीहरूका तर्फबाट बोल्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सम्मेलनको सफलताको शुभकामना दि्नुभयो। यस इभेन्टले चिनियाँ प्रान्त र अन्य मुलुकहरूबीच आर्थिक तथा व्यापारिक, साँस्कृतिक तथा अन्य क्षेत्रमा सहकार्य गर्न अवसरका ढोका खुल्ने अपेक्षा उहाँले सुनाउनुभयो। भेटमा यमन, दक्षिण कोरिया, थाइल्याण्ड, क्याम्बोडिया लगायतका मुलुकका प्रतिनिधिहरू थिए।

यसअघि बुधबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसीका उपाध्यक्ष छि स्युछुनले उपराष्ट्रपति पुनसँग लान्चौमा भेटवार्ता गर्नुभएको थियो।

जानकारी तथा लेखहरु