फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको सिमा टिष्टासम्म देखाउने निशान 15 वर्ष पछि फिर्ता

(GMT+08:00) 2017-07-08 16:19:32

सुरक्षाको कारण देखाउँदै 15 वर्षअघि इलामबाट काठमाडौँ सारिएको ऐतिहासिक महत्वको निशान पुनः इलाममै स्थापना गरिएको छ। नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रूपमा रहेको निशान विसं 2059 वैशाख 26 गते श्रीनाथ पल्टनले आफूसँगै काठमाडौँ लगेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

शुक्रबार दिउँसो ठूलो टुंडिखेलमा उतारेर वैदिक विधिअनुसार माईस्थान मन्दिर (पहिलो निशान राखिएको ठाउँ)मा राखिएको छ। सो समारोहमा सेनाका उच्च अधिकारी समेत सामेल भएका छन्। निशान राख्नका लागि 13 लाख रुपैयाँको लागतमा पुरानो निशान घरको जीर्णोद्धार गरिनाका साथै माईस्थान मन्दिरमा तामाको छानो लगाइएको छ। विसं 1875 मा सुगौली सन्धिपछि इलाममा बसेको श्रीनाथ पल्टनले निशान लगेपछि इलामका स्थानीयवासीको लामो संर्घष पछि जिल्लामा फर्किएको हो।

एक सय 85 वर्षसम्म निशान माईस्थान मन्दिरमा नै राखिएको थियो। इतिहासविद् युद्धप्रसाद वैद्य भन्नुहुन्छ, 'विसं 1875 इलाममा राखिएको निशान श्रीनाथ पल्टनले आफ्नो गणमा लगेपछि लामो सङ्घर्ष गरेर फर्काएका छौँ, यो इलामको लागि ठूलो गौरवको विषय हो।' नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रुपमा रहेको निशान फर्कनु इलामको लागि सौभाग्य भएको समेत उहाँको भनाइ छ।

निशान सुरक्षाका लागि माईस्थान मन्दिरमा 10 र 12 सैनिक टुकडीसमेत राखिने कालीध्वज गण इलामका गणपति प्रकाश लामिछानेले बताउनुभयो। निशानको दैनिक पूजा गरिनेछ। निशानलाई शक्तिस्वरूप भगवतीका रूपमा पुज्ने चलन रहेको वैद्य बताउनुहुन्छ।

रासस

जानकारी तथा लेखहरु