फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिलाको पेटबाट 35 किलोको ट्युमर निकालियो

(GMT+08:00) 2017-07-08 16:20:47

त्रिवि शिक्षण अस्पतालमा एक महिलाको पेटबाट 35 किलोग्रामको गाँठो (ट्युमर) शल्यक्रियाका माध्यमले झिकिएको छ। अस्पतालको दाबीअनुसार पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको यति ठूलो ट्युमरको मुलुकमा यो पहिलो सफल शल्यक्रिया भएको कान्तिपुर अनलाइनले लेखेको छ।

'मुलुकमा पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको 35 किलोग्रामको ट्युमरको यो पहिलो सफल शल्यक्रिया हो,' अस्पतालका स्त्री तथा प्रसूति रोग विभागकी प्रा.डा.आश्मा राणाले भन्नुभयो। शल्यक्रिया गर्नुअघि गाँठोलाई विभिन्न अंगबाट छुट्याउन उचाल्नु पर्दा डाक्टरहरूलाई हम्मे परेको थियो। 'अस्पतालमा भएका विभिन्न विभागका चिकित्सकको सामूहिक परामर्श, सहकार्य र संलग्नताले यो जटिल शल्यक्रिया सफल भएको हो,' डा.राणाले शल्यक्रिया हुँदा विभिन्न अंगबाट छुट्याउने क्रममा उक्त गाँठोलाई चार जना डाक्टरले मिलेर उचाल्नुपरेको बताउनुभयो।

6 वर्षदेखि पेट फुल्ने, दिसापिसाब गर्न गाह्रो हुने समस्याबाट पीडित ती महिलाको एक वर्षयता पेट धेरै फुल्न थालेको थियो। करिब 6 महिनादेखि उनलाई हिँड्डुल, खानपान जस्ता दैनिक क्रियाकलाप गर्नसमेत गाह्रो भएपछि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। डा. राणाको नेतृत्वमा उक्त विभागकी प्रमुख प्रा.डा.गीता गुरुङ, डा.सुभाना मास्के, जीआई सर्जरी विभागका डा. विकल घिमिरे, प्लास्टिक सर्जरी विभागका डा.कृष्ण मानन्धर र एनेस्थेसिया विभागका प्रमुख डा.अनिल श्रेष्ठ र डा.अमित भट्टराईलगायत 24 जना चिकित्सकको संलग्नतामा 6 घण्टा लामो शल्यक्रिया गरिएको थियो।

महिलाको पेटमा पाठेघरको मांसपेशीको सामान्य गाँठो रहेको प्रयोगशाला परीक्षणमा देखिएको छ। यो गाँठो पाठेघर छेउछाउको तन्तुबाट पलाएर 35 किलोग्राम तौलको पुगेको थियो।

शल्यक्रियाभन्दा पहिले करिब 71 किलोग्राम तौल भएकी ती महिला हाल करिब 36 किलोग्रामकी छन्। शल्यक्रिया भएको 16 औं दिन शुक्रबार बिरामी पूर्ण स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्।

जानकारी तथा लेखहरु