फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थानीय तहको निर्वाचनपछि काठमाडौ महानगरको नयाँ नीति कार्यक्रम घोषणा

(GMT+08:00) 2017-07-15 13:59:15

काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार सुरु भएको महानगरको पहिलो नगर परिषदले महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पूर्वाधार योजनाबद्ध रूपले विकास गरिने लक्ष्य सहित महानगरका प्रमुख विद्यासुन्दर शाक्यले २३ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभयो। राजधानी सहर रहेको काठमाडौंको प्रतिष्ठा झल्कने स्वरूपको गौरव गर्न लायक केन्द्रीय कार्यालय भवन, त्यस्तै प्रकृतिका वडा कार्यालय भवन बनाउँदै तीन वर्षभित्रमा सबै वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गर्ने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा योजनामा विभिन्न नारासहितको कार्यक्रम बनाइएको छ। सार्वजनिक गरिएको कार्यक्रममा सामाजिक विकास एवं समाज कल्याण हाम्रो दायित्व, सक्षम युवा, उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी,' जनउपयोगी शिक्षा, सक्षम नागरिक, स्वस्थ नागरिक, स्वस्थ महानगर, स्थानीय सरकार पूर्वाधार विकासको आधार, हाम्रो आवास मौलिक र सुरक्षित आवासजस्ता कार्यक्रम अघि सारिएको छ। 'स्वस्थ वातावरणसहितको सुन्दर काठमाडमौं महानगर' कार्यक्रमअन्तर्गत सार्वजनिक ठाउँमा ५० वटा स्मार्ट सार्वजनिक शौचालय र ५० ठाउँमै इ–ट्वाइलेट निर्माण गरिने उल्लेख छ। सडक सफाइमा आवश्यक उपकरण ब्रुमर, जेट मेसिन तथा रूख रोप्ने र ट्रान्सप्लान्ट गर्ने उपकरण खरिद गरी सहर सफाइ र हरियालीका लागि व्यवस्था मिलाउने, खुला क्षेत्र, नदी किनार, सडक किनार, सार्वजनिक जग्गा, पर्ति जग्गा तथा नदी किनारा क्षेत्रमा वृक्षरोपण गरी ग्रिन सिटीका रूपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ।

कान्तिपुर अनलाइनका अनुसार महानगरको बीस वर्षे विकास योजना तयार पारिने कार्यक्रममा छ भने महानगरको सहरी विकास योजनालाई महानगर तह, क्षेत्रगत तह र वडा तह गरी तीन तहमा निर्माण गरिने उल्लेख छ। भूउपयोग नीति तर्जुमा गर्न आवश्यक तथ्यांक संकलन गर्ने, सडक बत्ती र आधुनिक आकाशे पुल निर्माण गर्ने, रानी पोखरी, धरहरा, काष्ठमण्डपलगायत पुनर्निर्माण द्रुत गतिमा अघि बढाउने, मेघा हल निर्माण गर्ने, टेलिफोन, बिजुलीका तार जमिनमुनि गाड्ने, सार्वजनिक पोखरी संरक्षण गरी पर्यटक आकर्षण केन्द्र बनाउनेलगायत योजना छन् । भौतिक संरचना अपांग मैत्री बनाइने, लैगिक मैत्री बनाउने, जग्गा एकीकरण आयोजना शीघ्र सम्पन्न गर्ने, बसपार्कको स्तरोन्नति गर्नै, सरकारी तथा सार्वजनिक पर्ती जग्गाको अतिक्रमण रोक्ने जस्ता योजना छन्।

'सामाजिक विकास एवं समाज कल्याण हाम्रो दायित्व' कार्यक्रमअन्तर्गत सरकारले ज्येष्ठ नागरिक, वृद्धवृद्धा, ५ वर्षमुनिका बालिबाकिला र अपांगलाई सार्वजनिक यातायात नि:शुल्क गर्ने योजना छ। महानगरले जनउपयोगी शिक्षा र सक्षम नागरिक नारा पनि अघि सारेको छ।

'हाम्रो काठमाडौं, उज्यालो काठमाडौं' कार्यक्रमअन्तर्गत महानगर क्षेत्रलाई अँध्यारोबाट मुक्त गरिने नीति बनाइएको छ । सहज, सुलभ, सुरक्षित र व्यवस्थित सहरी यातायात कार्यक्रमअन्तर्गत निजी तथा साना सवारी साधनको प्रयोगलाई निरुत्साहित गर्ने 'हाम्रो संस्कृति र सम्पदा, पर्यटनका लागि चिनारी रहन्छ सदा' कार्यक्रम सञ्चालन गरिने लगायतका कार्यक्रम योजनामा समेटिएको छ।

जानकारी तथा लेखहरु