फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

(GMT+08:00) 2017-07-17 15:45:57

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ। परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो। परराष्ट्र अधिकारीका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ। दुवै भ्रमणको तिथि भने तय भइ नसकेको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ। देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी तिथि मिलाउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए। 'उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणपछि नै प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी छलफल र तयारी अघि बढेको छ, निर्णय भने भएको छैन,' उपप्रधान तथा परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव युवराज चौलागाईले भन्नुभयो, 'मिति मात्र नभएर एजेन्डाका विषयमा समेत अन्तरमन्त्रालय छलफल अघि बढाइएको छ।'

यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार 20 गते फर्किनु भएको थियो। उहाँले दुईपक्षीय छलफलमा प्रधानमन्त्री देउवाको भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा छलफल गर्नुभएको थियो। त्यतिबेला समकक्षी सुष्मा स्वराजबाहेक अन्य नेतासँग महराको भेटघाट भएन। उहाँ फर्केको दुई सातामै प्रधानमन्त्री देउवा भारत जाने भनिए पनि भारतमा राष्ट्रपति निर्वाचनको चटारोले हुन सकेन। भारतले नयाँ राष्ट्रपति पाएलगत्तै देउवा भारत जानुहुनेछ।

प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिनु भएको थियो। विमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन एक महिनापछि स्वराज नेपाल आउने र त्यसलगत्तै देउवा दिल्ली जाने गरी तयारी अघि बढेको अधिकारीहरु बताउँछन्। 'तिथिबारे छलफल भइरहेको होला, यसमा अपडेट हुन पाएको छैन तर भ्रमण हुने विषय आइरहेकै छ,' प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अहिले नै भ्रमणको विषयमा बोल्न नसक्ने बताउदै भन्नुभयो, 'सम्बन्ध विस्तारका लागि उच्चस्तरको राजनीतिक भ्रमण नराम्रो विषय होइन।'

देउवाको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री मोदी, बिहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत छलफल भइरहेको छ। देउवाको भ्रमणका विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीहरुबीच लगातार छलफल भइरहे पनि तिथि टुंगो लागेको छैन। पुरानो तयारीअनुसार अर्को साता प्रधानमन्त्री भारत पुग्नुपर्ने थियो। तर, राष्ट्रपति निर्वाचनका कारण त्यो तिथि सरेको हो। उहाँ अब तेस्रो चरणको निर्वाचनअघि भारत जानुहुनेछ।

अन्तिम समयमा सधैं चटारो हुने भन्दै प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको दिल्ली यात्राको तयारी भने थालिसकेका छन्। परराष्ट्र, गृह, अर्थ, आपूर्ति, ऊर्जालगायत मन्त्रालयका कर्मचारीस्तरमा प्रधानमन्त्रीको यात्राका क्रममा राखिने विषयबारे छलफल भइरहेको छ। भ्रमणका एजेन्डा तय गर्न विभिन्न मन्त्रालयका सम्वन्धित शाखाले परराष्ट्रको दक्षिण एसिया महाशाखासँग पनि छलफल अघि बढाएका छन्। परियोजनाको प्रगति, नेपाल र भारतबीच भएका सहमति र सम्झौताको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ। तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग निर्माण थालनी, पहिलेका प्रतिबद्धतालगायत विषयमा छलफल भइरहेको छ। परराष्ट्र सचिव र राजदूतस्तरीय संयन्त्रले गरेको नियमित बैठकका प्रगति, प्रबुद्ध व्यक्ति समूहमा भइरहेको छलफल तथा विकास र राजनीतिक एजेन्डालगायत कुराकानी भइरहेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा खासै धेरै सम्झौतामा हस्तक्षर हुनेछैनन्, यसअघि भएका सम्झौता कार्यावन्यनमा जोड दिने तयारी छ। केही नयाँ सम्झौता हुने तर कुन विषयलाई अन्तिम रुप दिने भन्ने विषय अझै छलफलमै रहेको प्रधानमन्त्री कार्यालयस्रोतले जनायो। प्रधानमन्त्री न्युयोर्क जानुभन्दा अगावै भारत जाने गरी तयारी अघि बढिरहेको छ। असोज 3 मा संविधान दिवस मनाएर प्रधानमन्त्री न्युयोर्क जाने तयारी छ।

करिब डेढ महिना पहिले चौथोपटक प्रधानमन्त्री बन्नुभएका देउवाको आगामी भारत भ्रमण नै पहिलो विदेश भ्रमण हुनेछ। देउवाले भारतजस्तो छिमेकलाई चिढ्याएर होइन, सहकार्य गरेर नै अघि बढ्नुपर्छ भन्ने मान्यतामा भ्रमणलगायत कार्यमा जोड दिनु भएको छ। प्रधानमन्त्रीले उठाउने विषयवस्तुबारे सम्बन्धित मन्त्रालयले प्राथमिकता क्षेत्र र यसअघि भएका सम्झौताका अवस्थाबारे प्रारम्भिक रिपोर्ट परराष्ट्रलाई दिनेछन् भने त्यसपछि प्रधानमन्त्रीको एजेन्डा तय हुनेछ। नाकाबन्दीपछि चिसिएको सम्बन्धमा पछिल्लो समय न्यानोपन आइरहेको छ। यसलाई अझ मजबुत बनाउनेतर्फ नै भ्रमणकेन्द्रित हुने बताइएको छ।

http://kantipur.ekantipur.com/news/2017-07-17/20170716205824.html

जानकारी तथा लेखहरु