फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगमा निर्मित क्यान्सर अस्पतालमा थप उपकरण

(GMT+08:00) 2017-07-18 17:56:30

चिनियाँ सहयोगमा निर्माण भएको चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई थप सुविधासम्पन्न बनाउन अस्पताल प्रशासनले उपचारमा सहजता ल्याउने विभिन्न प्रविधि भित्र्याइरहेको छ। पछिल्ला केही दिनभित्रै अस्पतालले हड्डीको अवस्था पत्ता लगाउने 'बोन मिनिरल डेन्सिटो' र रक्त क्यान्सर बिरामीको उपचारका लागि रक्तकोष छुट्याउने 'सेल सेप्रेटर' जडान गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

सेल सेप्रेटरले शरीरमा बोसोको मात्रा र हड्डीमा क्याल्सियमको अवस्था पत्ता लगाउने प्राविधिकले बताए। एक करोड रुपैयाँ खर्चेर अस्पतालको रेडियोलोजी विभागमा जडान गरिएको यो उपकरण किमोथेरापी दिइएका बिरामीका लागि अझ प्रभावकारी मानिन्छ। यस्तो मेसिन नेपालमै पहिलोपटक जडान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले बताउनुभयो। 'हड्डीमा क्याल्सियमको मात्रा कति छ भन्ने अब यहीँ पत्ता लगाउन सकिन्छ,' उहाँले भन्नुभयो, 'बाहिर जानुपर्दैन।'

डा. आचार्यका अनुसार अर्को प्रविधि 'बोन मिनिरल डेन्सिटो' ले 10 वर्षपछि हुने हड्डीको अवस्था अहिल्यै पत्ता लगाउँछ। यो विशेष गरी महिनावारी रोकिएका महिलाको स्वास्थ्य परीक्षणमा उपयोगी हुन्छ। अस्पतालमा गामाप्रोभ मेसिन पनि जडान गरिएको छ। यसअघि शल्यक्रियाबिनै स्तन क्यान्सर उपचार गर्न सकिने मेसिन भित्र्याइएको थियो। एक करोड रुपैयाँ बराबरका दुवै मेसिन अन्तर्राष्ट्रिय आणविक इनर्जी एजेन्सीको सहयोगमा जडान गरिएको हो। सेवा प्रभावकारी बनाउन अस्पतालले पुराना मेसिनसमेत मर्मत गरिसकेको छ। केही मेसिन कामै नलाग्ने भएकाले नयाँ खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको कार्यकारी निर्देशक आचार्यले बताउनुभयो।

अस्पतालका अनुसार सेल सेप्रेटरले रगतमा भएका कोष छुट्याउने काम गर्छ। रक्त क्यान्सरका बिरामीलाई आवश्यक रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लूबीसी), प्लेटलेट्स र बोनम्यारो प्रत्यारोपणका लागि चाहिने स्टिमसेल छुट्याउन विशेष उपयोगी मानिन्छ। अस्पतालले 2056 सालमा साधारण सेल सेप्रेटर सञ्चालनमा ल्याए पनि 5/6 वर्षमै बिग्रिएको थियो। अहिले सञ्चालनमा ल्याइएको मेसिन अत्याधुनिक रहेको कार्यकारी निर्देशक आचार्यले बताउनुभयो। 'रक्त क्यान्सरका बिरामीका लागि यो उपकरण निकै महत्त्वपूर्ण छ,' उहाँले भन्नुभयो, 'यो सेवा राजधानीको सिभिल अस्पतालबाहेक कतै छैन।'

बिरामीलाई रगत आवश्यक परेका बेला दाता खोजेर संकलन गरिँदै आएको र रक्तकोष छुट्याउन नसक्दा कतिपय खेर जाने समस्या थियो। यो उपकरणको मद्दतमा दाताबाट निकालिएको रक्तकोष छुट्याएर बाँकी शरीरभित्र पठाउन मद्दत गर्ने आचार्यले जानकारी दिनुभयो।

रक्त क्यान्सर बिरामीको प्लेटलेट्स घटेर 30/40 हजार मात्र हुन्छ। यो अवस्था बिरामीका लागि खतराजनक हो। स्वस्थ मानिसमा 1 लाख 50 हजारदेखि 4 लाखसम्म प्लेटलेट्स हुन्छ। दाताबाट संकलित रक्तकोषका बिरामीमा राख्दा 2 देखि 4 घण्टासम्म लाग्न सक्छ। पहिले नै निकालिएको रगतबाट प्लेटलेट्स छुट्याउँदा थोरै मात्र निस्कन्छ। नयाँ प्रविधिबाट भने बिरामीको रगतमा 40 देखि 60 हजार प्लेटलेट्सको मात्रा एकैपटक बढाउन सकिन्छ। यसरी रक्तदान गरेका व्यक्तिले 72 घण्टादेखि एक साताभित्र पुन: रगत दिन सक्छन्। यो मेसिन चीन सरकारको आर्थिक सहयोगमा तीन साताअघि ल्याइएको हो। प्राविधिक भारतबाट झिकाइएको छ। उपकरण चलाउने दक्ष जनशक्ति उत्पादनका लागि अस्पतालले 3 प्राविधिकलाई प्रशिक्षणमा चीन पठाएको छ। थप 3 जनालाई पठाउने तयारी भइरहेको अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. चीनबहादुर पुनले बताउनुभयो। '6 जना प्राविधिकले प्रशिक्षण लिएपछि सेवा निरन्तर रहन्छ,' उहाँले भन्नुभयो, 'रक्त क्यान्सरका बिरामीले उपचारका लागि अब बाहिर जानुपर्दैन।' यससँगै मासुको तन्तु परीक्षणका लागि प्रयोग हुने 'अटोमेटिक इमुनो हिस्टोकेमेस्ट्र स्टेनर' मेसिन पनि सञ्चालनमा ल्याइएको छ।

http://kantipur.ekantipur.com/news/2017-07-18/20170718091830.html

जानकारी तथा लेखहरु