फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको व्यापार घाटा 8 खर्ब नाघ्यो

(GMT+08:00) 2017-07-19 18:31:46

चालु आर्थिक वर्षको एघार महिनामै नेपालको व्यापार घाटा सवा 8 खर्ब रुपैयाँ पुगेको छ। सुरुका महिनादेखि नै आयात उच्च दरले बढेपछि यो वर्ष वार्षिक व्यापार घाटा 8 खर्ब नाघ्ने आकलनहरू गरिएका थिए। तर, एघार महिनामै व्यापार घाटा 8 खर्ब 27 अर्ब 95 करोड रुपैयाँ पुगेको कान्तिपुर अनलाइनले लेखेको छ। यसका आधारमा वार्षिक व्यापार घाटा झन्डै 9 खर्ब रुपैयाँ पुग्ने देखिन्छ। 073 जेठको तुलनामा चालु आवको सोही अवधिको व्यापार घाटा 33 प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो 1.6 प्रतिशतले बढेको थियो। निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि व्यापार घाटा चुलिएको हो।

गत जेठसम्म निर्यात करिब 10 प्रतिशतको वृद्धिसहित 68 अर्ब 62 करोड रुपैयाँ भएको छ। उक्त अवधिमा 8 खर्ब 96 अर्ब 57 करोड रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्षको तुलनामा जेठसम्म आयात 30.9 प्रतिशतले बढेको राष्ट्र बैंकद्वारा मंगलबार सार्वजनिक जेठ महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ।

चालु आर्थिक वर्षको 11 महिनासम्म रेमिट्यान्समार्फत 6 खर्ब 33 अर्ब 42 करोड रुपैयाँ मुलुक भित्रिएको छ। गत वर्षको सोही अवधिमा तुलनामा यो 5.8 प्रतिशत बढी हो। 073 जेठसम्ममा यस्तो वृद्धिदर 8.6 प्रतिशत थियो। एघार महिनासम्म मुलुक भित्रिएको रेमिट्यान्स रकम उक्त अवधिको कुल व्यापार घाटाभन्दा झन्डै 2 खर्ब रुपैयाँले कम हो। रकमका आधारमा रेमिट्यान्स आप्रवाह बढेको देखिए पनि पछिल्ला महिनाहरूमा यसको वृद्धिदर घट्दो क्रममा छ। यही समयमा विदेशी मुद्राका आम्दानीका अन्य स्रोतहरू पर्यटन, निर्यातलगायतमा अपेक्षित सुधार हुन नसक्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब परेको राष्ट्र बैंकले जनाएको छ। यसैकारण दुईबाहेक बाँकी सबै महिनामा चालु खाता ऋणात्मक छ।

अघिल्लो वर्षको एघार महिनामा 1 खर्ब 30 अर्ब 8 करोड रुपैयाँले बचतमा रहेको चालु खाता गत जेठसम्म 1 अर्ब 72 करोड रुपैयाँले घाटामा छ। यसको प्रत्यक्ष असर शोधनान्तर स्थितिमा पनि देखिएको छ। अघिल्लो वर्षको एघार महिनासम्ममा 1 खर्ब 71 अर्ब 15 करोडले बचतमा रहेको शोधनान्तर जेठसम्म 74 अर्ब 26 करोड रुपैयाँले मात्र बचतमा छ।

तर, रोजगारीका लागि विदेसिनेको संख्यामा आएको कमीअनुसार रेमिट्यान्स आप्रवाह नघटेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले असन्तुलित वित्तीय क्षेत्र सन्तुलनमा आउने राष्ट्र बैंकले दाबी गरेको छ। 'विदेश जाने कामदारको संख्यामा कमी आए पनि विप्रेषण आप्रवाह सुदृढ अवस्थामा रहेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले पनि वित्तीय अवस्था सहज हुँदै जाने देखिएको छ,' राष्ट्र बैंकले भनेको छ।

यो वर्ष बजार मूल्य वृद्धिमा भने नाटकीय ढंगले सुधार देखिएको छ। एकातिर बजारमा उपभोक्ताले सस्तोमा वस्तु खरिद गर्न पाएका छैनन् तर राष्ट्र बैंकको तथ्यांकले भने खाद्य पदार्थको मूल्य वृद्धि 1 प्रतिशतले ऋणात्मक रहेको जनाएको छ। त्यसमध्ये जेठमा तरकारी र दलहन गेडागुडीहरूको मूल्य क्रमश: 16.3 र 17.5 प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

074 जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि 2.8 प्रतिशत छ। 073 जेठमा यस्तो मूल्य वृद्धि 11.1 प्रतिशत थियो। गत वर्षको उच्च आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारका कारणले यो वर्ष मूल्य वृद्धिमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति 5.8 प्रतिशत छ। 073 जेठसम्म यो समूहको मूल्य वृद्धिदर साढे 10 प्रतिशत थियो। 'यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्यलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य वस्तुहरूको मूल्य वृद्धि कम रहन गएको हो,' राष्ट्र बैंकले भनेको छ।

http://kantipur.ekantipur.com/news/2017-07-19/20170719085021.html

जानकारी तथा लेखहरु