फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा राजस्व संकलन 27 प्रतिशतले बढ्यो

(GMT+08:00) 2017-07-19 18:33:24

नेपाल सरकारको राजस्व संकलन यस वर्ष पनि उत्साहजनक देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष 2073/74 मा 27 प्रतिशत बढी राजस्व संकलन भएको कान्तिपुर अनलाइनले लेखेको छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार पत्रकार सम्मेलन गरी लक्ष्यको 1 सय 8 प्रतिशत राजस्व संकलन भएको जानकारी दिनुभयो। 'आर्थिक वर्ष 2073/74 मा 6 खर्ब 11 अर्ब 76 करोड 78 लाख 96 हजार संकलन भएको प्रारम्भिक तथ्यांकबाट देखिएको छ।

5 खर्ब 65 अर्ब 89 करोड 65 लाख संकलन गर्ने लक्ष्य राखिएको थियो,' कार्कीले भन्नुभयो, 'आर्थिक वर्ष 2074/75 को बजेट प्रस्तुत गर्दा संकलनको संशोधित अनुमानअनुसार 5 खर्ब 80 अर्ब 98 करोड 86 लाख 35 हजार संकलन हुने अनुमान गरिएको थियो।

संकलन भएको लक्ष्यको तुलनामा 1 सय 8 र संशोधित अनुमानको तुलनामा 1 सय 5 प्रतिशत हो।' आर्थिक वर्ष 2073/74 मा संकलन भएको वृद्धि उत्साहजन भएको उहाँले बताउनुभयो।

संकलितमध्ये कर 5 खर्ब 53 अर्ब 90 करोड 70 लाख 68 हजार अर्थात् संकलित कुलको 90.54 प्रतिशत छ। यो रकम लक्ष्यको तुलनामा 1 सय 8 र गत वर्षको तुलनामा 31.54 प्रतिशतले बढी भएको अर्थ मन्त्रालयले जनाएको छ। यसैगरी गैरकर आर्थिक वर्ष 2073/74 मा 57 अर्ब 86 करोड 8 लाख संकलन भएको छ। गैरकर लक्ष्यको तुलनामा 1 सय 4.62 प्रतिशत हो।

संकलित कर मा मूल्य अभिवृद्धि कर (भ्याट) बाट 1 खर्ब 61 अर्ब 12 करोड 76 लाख 14 हजार अर्थात् 26.33 प्रतिशत, आयकरबाट 1 खर्ब 51 अर्ब 36 करोड 30 लाख 25 हजार अर्थात् 24.74 प्रतिशत, भन्सार महसुलबाट 1 खर्ब 12 अर्ब 22 करोड 38 लाख 02 हजार अर्थात् 18.34 प्रतिशत र अन्त:शुल्कबाट 84 अर्ब 23 करोड 14 लाख 80 हजार अर्थात् 12.8 प्रतिशत संकलन भएको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो।

'उपयुक्त शीर्षकहरूमा संकलन भएको कर अघिल्लो आर्थिक वर्षका तुलनामा क्रमश: 31.63 प्रतिशत, 28.92, 36.59 र 28.51 प्रतिशतले बढी भएको जानकारीसमेत गराउन चाहन्छु,' कार्कीले भन्नुभयो, 'गैरकरतर्फ सवारी साधन करबाट 8 अर्ब 80 करोड 83 लाख 35 हजार अर्थात् 1.44, घरजग्गा रजिस्ट्रेसनबाट 18 अर्ब 20 करोड 80 लाख 98 हजार अर्थात् 2.97 र अन्य करबाट 16 अर्ब 03 करोड 33 लाख 35 हजार अर्थात् 2.62 प्रतिशत संकलन भएको छ।'

आर्थिक वर्ष 2073/74 मा लक्ष्यभन्दा बढी संकलन हुनुले नेपालको कराधारको विस्तार र कर प्रणाली सुढृद हुँदै गएको संकेत गरेको उहाँले बताउनुभयो। 'विगत केही वर्षदेखि करका दरहरूमा ठूलो संरचनागत परिवर्तन गरिएको छैन। सम्बन्धित नीतिहरूमा पनि ठूलो परिवर्तन गरिएको छैन,' उहाँले भन्नुभयो, 'करको दायरा विस्तार, कर परिपालनाको स्तर अभिवृद्धि, प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास र विस्तार, चुहावट नियन्त्रण र प्रशासकीय सुधार गरी संकलनको लक्ष्य हासिल गरिएको छ।' आव 2068/69 देखि 2073/74 सम्म को वार्षिक वृद्धिदर औसत 21.21 प्रतिशत कायम भएको उहाँले बताउनुभयो।

'आर्थिक वर्ष 2073/74 मा नयाँ करदाता विस्तार, 6.95 को आर्थिक वृद्धिले सिर्जना गरेको अनुकूल आर्थिक गतिविधि, पुनर्निर्माणका क्रियाकलापमा भएको लगानी विस्तार, भन्सार विन्दुहरूमा सुरुवात गरिएको नयाँ प्रणाली, कर अनुसन्धान तथा परीक्षणको प्रभाव, लगानीयोग्य अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप तथा बन्द हडतालरहित वातावरण, प्रशासनको विस्तारित व्यावसायिक क्षमताजस्ता कारणले संकलन लक्ष्यभन्दा बढी रहेको अवगत गराउन चाहन्छु,' उहाँले भन्नुभयो। यस आर्थिक वर्ष भने 7 खर्ब 30 अर्ब 5 करोड 55 लाख संकलन गर्ने लक्ष्य राखिएको छ। यो लक्ष्य अघिल्लो आर्थिक वर्षको तुलनामा 29 प्रतिशत र संकलन भइसकेको रकमको तुलनामा 19.35 प्रतिशतले बढी रहेको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो।

http://kantipur.ekantipur.com/news/2017-07-19/20170719085048.html

जानकारी तथा लेखहरु