फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सीमावर्ती रसुवाका पहिरो पीडितलाई चीनको राहत

(GMT+08:00) 2017-08-09 18:03:20

        चीन सरकारले सीमावर्ती रसुवा जिल्लाका पहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ। केरुङ फ्रन्टियर इन्सपेक्सन स्टेसनका कर्णेल काओ हुईहुई नेतृत्वको टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सामग्री हस्तान्तरण गरेको नागरिकन्यूज डटकमले जनाएको छ।

         पहिरोका कारण विस्थापित रसुवाबासीलाई चामल, चिनी, तेल र अन्य खाद्य सामाग्री चिनियाँ टोलीले प्रमुख जिल्ला अधिकारी एवं समिति अध्यक्ष चोमेन्द्र न्यौपानेलाई हस्तान्तरण गरेको हो। मंगलबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमबीच चिनियाँ टोलीले राहत सामग्री नेपाली पक्षको जिम्मा लगाएको हो। समितिको भण्डार कक्षमा राखिएको २० बोरा चामल सहितको सामग्री पीडितलाई छिटै प्रदान गरिने बताइएको छ। चिनियाँ पक्षले ४७ कार्टुन खानेतेल, बदाम, पाउडर दूध, चिनी र प्याकिङ मासु प्रदान गरेको हो।

         वर्षासँगै आइतबार राति गएको पहिरोको कारण रसुवाको दुई बस्ती विस्थापित भएका छन्। जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीका २७ परिवार र कालिका गाउँपालिका–२ घुम्ती बजारका दुई परिवार विस्थापित भएका हुन्। चीन सरकारले प्रदान गरेको सहयोग छिटै ती पीडित समक्ष पुर्‍याउने प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो।

          विस्थापित भएका उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित भएका पहिरो पीडितलाई खानेपानी, खाद्यान्न तथा शौचालयको अभाव भएको छ। पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नवाली समेत नष्ट भएको छ।

जानकारी तथा लेखहरु