फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामूहिक समृद्धि र प्रगतिका लागि कनेक्टिभिटी आवश्यकः नेपालका प्रधानमन्त्री

(GMT+08:00) 2017-08-11 16:45:30

       प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५औं विदेश मन्त्रीस्तरीय बैठक बिहीबार राजधानीमा उद्घाटन गर्दै 'यो क्षेत्रको सामूहिक समृद्धि र प्रगतिका लागि कनेक्टिभिटी आवश्यक भएको बताउनुभएको छ।

        प्रधानमन्त्री देउवाले उद्घाटन समारोहलाई सम्बोधन भन्नुभयो, 'बिमस्टेकले वाणिज्य, पर्यटन, कनेक्टिभिटी, ऊर्जालगायत थुप्रै क्षेत्रमा प्रगति गरेको छ।' यातायात सञ्जाल र ऊर्जा सहयोग सुस्त भए पनि सकारात्मक रुपमा अघि बढेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो।

    'आतंकवाद, अन्तरदेशीय अपराध, मानव तथा लागूऔषध तस्करीका घटनाले यो क्षेत्रको शान्ति र सद्भाव बिथोल्ने काम गरेको छ। जलवायु परिवर्तन र प्राकृतिक प्रकोप पनि यो क्षेत्रको विकासका लागि चुनौती बनेका छन्,' प्रधानमन्त्री देउवाले भन्नुभयो।

        बैठकमा सहभागी हुन सदस्य राष्ट्र भारत, बंगलादेश, भुटान, विदेश मन्त्री तथा थाइल्यान्ड, श्रीलंका र म्यानमारका विदेश राज्यमन्त्री काठमाडौं आएका छन्।

        समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्ने बिमस्टेक अद्वितीय प्लेटफर्म भएको बताउनुभयो। यो क्षेत्र प्राकृतिक स्रोतले धनी, चलायमान जनसंख्या र विविध सांस्कृतिक सम्पदाले पूर्ण रहेको उहाँको ठहर छ। 'कनेक्टिभिटी, ऊर्जा, सहयोग, सूचना तथा प्रविधि आदानप्रदानमा देखिनेगरी प्रगति हुनुपर्छ । यसले नै यो क्षेत्रमा सामाजिक आर्थिक परिवर्तन ल्याउने छ,' महराले भन्नुभयो।

         प्रधानमन्त्री देउवाले बैठक उद्घाटन गर्नुअघि बिहीबार नै बिमस्टेकका वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १८औं बैठक राजधानीमा सम्पन्न भएको थियो। बैठकमा सदस्य राष्ट्रका विदेश सचिवहरू सहभागी थिए। वरिष्ठ अधिकारीहरूको बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, पर्यटन, प्रविधिलगायत क्षेत्रको विकास र विस्तारमा छलफल भएको थियो।

         बिमस्टेक खुला व्यापार क्षेत्र सम्झौता छिटो टुंग्याउने, बिमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने र बिमस्टेक प्रविधि स्थानान्तरण सुविधासम्बन्धी विषयमा छलफल भयो,' वरिष्ठ अधिकारीहरूको बैठक सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास बैरागीले भन्नुभयो।

          बैठकमा सदस्य राष्ट्रहरूमा बिमस्टेक केन्द्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो । नेपालले बैठकमा 'माउन्टेन इकोनोमी' सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको थियो। बिमस्टेकमा गरिबी निवारणको नेतृत्व नेपालले गर्दै आएको छ। गरिबी निवारणसम्बन्धी विज्ञहरूको बैठक भदौ १६ गते नेपालले आयोजना गर्ने भएको छ।

         बैठकमा हालसम्म भएका गतिविधिको समीक्षा गरियो। बैठकले बंगलादेशका शहिदुल इस्लामलाई बिमस्टेकको आगामी महासचिवमा सिफारिस गरेको जानकारी सचिव बैरागीले दिनुभयो।

जानकारी तथा लेखहरु