फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनिवार नेपालभरि जताततै वर्षा, सोमबार सम्म ठूलो वर्षाले जनजीवन प्रभावित

(GMT+08:00) 2017-08-13 13:55:49

पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएपछि शनिबार देशैभर भीषण वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर 'अस्वाभाविक' वर्षा भएको बताउनुभयो।

सामान्यतया दक्षिण (भारतीय क्षेत्र) मा सक्रिय रहने न्यून चापीय रेखा सर्दै शुक्रबार बिहान नेपालको चुरे र पहाडी क्षेत्रसम्मै पुगेपछि भीषण वर्षा सुरु भएको हो । मुलुकको मध्य र पश्चिम भागमा भने सोमबारसम्म मध्यमदेखि भीषण वर्षा हुने महाशाखाको अनुमान छ। कान्तिपुर अनलाइनका अनुसार सोमबार मध्यान्हदेखि मनसुन कमजोर बनेर मौसममा सुधार आउने महाशाखाको अनुमान छ।

न्यून चापीय प्रणाली मध्य तथा आसपासका भागमा विद्यमान रहेका कारण मनसुन बिहीबार रातिदेखि एक्कासि सक्रिय भएको महाशाखाद्वारा शनिबार जारी विशेष बुलेटिनमा उल्लेख छ। शनिबार राति पनि मुलुकका विभिन्न भागमा भीषण वर्षा हुने र नदी–जलाधारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन विशेषज्ञहरूले सुझाएका छन्।

दक्षिण एसियाका मौसमविद्ले यो वर्ष नेपालमा पश्चिममा भन्दा पूर्वी भागमा बढी वर्षा हुने ५ महिनाअघि नै प्रक्षेपण गरेका थिए। दक्षिण एसियाका मौसमविद् मनसुनबारे प्रक्षेपण गर्न मनसुन सुरु हुनुभन्दा अघि नै भेला हुने गरेका छन्। यस पटक मनसुनको अन्त्यतिर बढी वर्षा हुनेसमेत मौसमविद्हरूले भनेका थिए।

भीषण वर्षाका कारण नदी–जलाधारमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले सचेत गराएको छ। शाखाले विशेष बुलेटिन निकालेर पानीको सतह बढेर बस्तीमा पस्न सक्ने भएकाले सतर्क रहन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन केन्द्र, विभिन्न जिल्लाका प्रशासन लगायतलाई जानकारी गराएको छ।

शाखाका अनुसार शुक्रबारदेखि अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको बबई नदीका विभिन्न जलाधार क्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ। पूर्व–पश्चिम राजमार्गको चेपाङ, दाङको घोराही, तुलसीपुर, पदमपुर, अम्बापुर जलाधारमा पानीको सतहले खतराको तह पार गरेको छ । पश्चिम राप्तीको कुसुम मापन केन्द्रले समेत खतराको तह पार गरेको देखाएको छ ।

ती नदीमा खतराको तह पार गर्नेबित्तिकै शाखाले आफ्नो वेबसाइटमा समेत खतरा कायम रहेको संकेतस्वरूप साइरन बजाएको छ। अविरल वर्षाकै कारण मध्यभागको नारायणी नदीको माडी, गोविन्द बस्तीमा पनि पानीको सतहले खतराको तह पार गरेको छ । ती नदी जलाधारमा खतराको तह पार गर्नेबित्तिकै शाखाले स्थानीयलाई सुरक्षित रहन मोबाइल एसएमएस पठाएको छ। शाखाका बाढी पूर्वानुमान विज्ञ विनोद पराजुलीका अनुसार कन्काई, माडी, पश्चिम राप्ती, बबई र पूर्वी राप्ती चितवनमा एसएमएस पठाइएको हो। मोबाइल सन्देश पाउनेबित्तिकै स्थानीय सुरक्षित स्थानतिर भागेर ज्यान जोगाएका हुन् ।

जानकारी तथा लेखहरु