फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बाढीका कारण 26 जिल्लाको जनजीवन अस्तव्यस्त

(GMT+08:00) 2017-08-14 14:30:21

बाढीपहिरोले नेपालका 26 जिल्ला बढी प्रभावित भएका छन्। गृह मन्त्रालयले पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लामा बाढीमा परेर 58 जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ। प्रहरी तथ्यांक अनुसार 76 जनाको ज्यान गइसकेको नागरिक अनलाइनले लेखेको छ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट पूर्वका 6, मध्यका 10, पश्चिमका 3, मध्यपश्चिमका 6 र सुदूरपश्चिमको एक गरी 26 जिल्ला प्रभावित भएका हुन्। गत शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले प्रभावित जिल्लामा धनजनको क्षतिसँगै जनजीवन कष्टकर बनेको छ। 40 हजार घर डुबानमा परेका छन्। आइतबार साँझसम्मको तथ्यांक अनुसार पूर्वका सुनसरी, मोरङ, झापा, पाँचथर, सप्तरी, सिराहा बाढीको चपेटामा परेका छन्। त्यस्तै मध्य क्षेत्रका सर्लाही, रौतहट, महोत्तरी, सप्तरी धनुषा, सिन्धुली, बारा, पर्सा, मकवानपुर, चितवन र ललितपुर, पश्चिमका पाल्पा, नवलपरासी र कपिलबस्तु, मध्यपश्चिमका दाङ, बाँके, सुर्खेत, बर्दिया, कालिकोट र सल्यान तथा सुदूरपश्चिमको कैलालीमा बाढीपहिरोको प्रभाव परेको छ।

बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिबारे गृह र प्रहरीको तथ्यांक मेल खाँदैन। गृहले बेलुका आठ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार 58 जनाको ज्यान गएको छ। प्रहरी तथ्यांक भने गृहको भन्दा फरक छ। प्रहरी प्रधान कार्यालयका अनुसार बेलुका आठ बजेसम्म 74 जनाको मृत्यु भएको छ।

गृहका अनुसार सुनसरीमा सबैभन्दा धेरै 8 जनाको मृत्यु भएको छ। झापामा 4, मोरङमा 5, सर्लाहीमा 3, रौतहटमा 7, पाँचथरमा 1, महोत्तरीमा 1, धनुषामा 1, सिन्धुलीमा 4, बारामा 3, मकवानपुरमा 2, पल्पामा 1 कपिलबस्तुमा 1, दाङमा 3, बाँकेमा 4, बर्दियामा 2, सुर्खेतमा 3, कालिकोटमा 1, सल्यानमा 1 र कैलालीमा 1 जनाको ज्यान गएको छ।

गृहको तथ्यांकमा 17 जना बेपत्ता भएको देखाइएको छ भने प्रहरी तथ्यांक अनुसार 56 जना बेपत्ता छन्। गृहले 13 जना घाइते भएको विवरण सार्वजनिक गरेको छ भने प्रहरीका अनुसार 28 जना घाइते छन्। गृहले 3 सय 5 घरमा क्षति पुगेको जनाएको छ भने प्रहरीले दुई हजार 6 सय 98 घरमा क्षति पुगेको तथ्यांक उपलब्ध गराएको छ। त्यस्तै गृहका अनुसार 80 चौपाया मरेका छन् भने प्रहरीले तीन हजार सात सय 71 चौपाया मरेको खुलाएको छ।

गृहले केन्द्रीय कमान्ड गठन गरेर बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि 15 हजार सुरक्षा जनशक्ति खटाएको छ। 2 हजार सैनिक, 8 हजार प्रहरी र 5 हजार सशस्त्र प्रहरी बाढीपहिरो प्रभावित क्षेत्रमा खटिएका छन्।

गृहमन्त्री जनार्दन शर्मा आइतबार तीन सुरक्षा संगठनका प्रमुख र सेनाका प्रतिनिधिसहित विमान चार्टर गरेर बाढीपहिरो प्रभावित क्षेत्र पुग्नु भएको थियो। त्यहाँबाट फर्किएर उहाँले बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यक्रम चलाउन एक करोड 98 लाख रुपैयाँ निकासा गराउनु भएको छ।

गृहले कर्मचारीलाई बिदा नबस्न निर्देशन दिँदै बाढीपहिरो प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राहत तथा उद्धार अघि बढाउन निर्देशन दिएको छ।

 

जानकारी तथा लेखहरु