फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल चीन वाणिज्य प्रवर्द्धन सम्बन्धी पुस्तक सार्वजनिक

(GMT+08:00) 2017-08-14 14:31:14

नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापनाको 62औँ वार्षिकोत्सवका उपलक्ष्यमा नेपाल चीन वाणिज्य प्रवर्द्धन सम्बन्धी पुस्तक सार्वजनिक भएको छ। यो पुस्तक सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गत शनिवार काठमाडौँमा सार्वजनिक गर्नुभएको हो। दरवारमार्गस्थित होटल अन्नपूर्णमा एक समारोहबीच पुस्तक तथा सोही पुस्तकसँग सम्बन्धित डकुमेन्ट्री सार्वजनिक गर्दै मन्त्री बस्नेतले साधारण परिवारमा जन्मिएर पनि दुर्गा बहादुर श्रेष्ठले देशकै अर्थव्यवस्थालाई उकास्ने कार्य गरेको बताउनु भयो। युवा व्यवसायी दुर्गा बहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नु हुँदै मन्त्री बस्नेतले पुस्तक र डकुमेन्ट्रीमा नेपाल र चीनबीचको ऐतिहासिक कालदेखि वर्तमान समयसम्मको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्वन्ध झल्किएको प्रष्ट पार्नुभयो। 2072 साल बैशाखको महाभूकम्प पश्चात बन्द रहेको तातोपानी नाका खुलाउन सक्दो प्रयास भैरहेको भन्दै मन्त्री बस्नेतले एक्जिम बैंक अफ चाइनाले धुलीखेलबाट खाडीचौरसम्म चार लेनको र खाडचौरदेखि तातोपानी सम्म दुई लेनको सडक निर्माण गर्न 24 अर्ब लगानी गर्ने भएको र सो को फायल अर्थ मन्त्रालयमा पुगेको जानकारी दिनुभयो। सो समारोहमा बोल्दै वरिष्ठ लेखक एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्राचिनकालदेखि नै प्रगाढ सामाजिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघको संस्थापक अध्यक्षको हैसियले दुर्गाबहादुर श्रेष्ठको योगादान महत्वपूर्ण भएको बताउनु भयो।

चीनसँगको बढ्दो व्यापार घाटा कम गर्न नेपालले निकासी योग्य वस्तुहरुको उत्पादनमा जोडदिनु पर्ने सुझाव दिँदै परराष्ट्रविद् श्रेष्ठले सन् 2020 मा चीनबाट नेपालसम्म रेल आर्इपुग्दा उताबाट भारी सामान आउने र यताबाट खाली पठाउन नुहुने भन्दै समयमै तयारी थाल्न सरकारलाई आग्रह गर्नुभयो। विकासको धरातलमा हेर्दा नेपाल र चीनबीच उज्वल भविष्य भएपनि चीनसँग सीमाना जोडिएका जिल्ला र गाउँपालीकाले एक/एक वटा सामान निर्यात गर्न समयमै ध्यान दिनुपर्ने श्रेष्ठको सुझाव थियो।

कार्यक्रममा बोल्दै सांसद रामहरि खतिवडाले देश विकास र आर्थिक समृद्धिका लागि राजनीतिक पार्टीको धरातलबाट माथि उठेर काम गर्नुपर्ने बताउनु भयो। सांसद खतिवडाले नेपाल चीन वाणिज्य प्रवर्द्धनका क्षेत्रमा दुर्गा बहादुर श्रेष्ठको योगदानलाई उच्च भन्दै प्रशंसा गर्नुभयो। शुभकामना मन्तब्य व्यक्त गर्दै सांसद लार्केल लामाले तातोपानी क्षेत्रलाई व्यापारिक क्षेत्रको रुपमा मात्र नभएर आकर्षक पर्यटकीय गन्तब्यको रुपमा समेत विस्तार गर्न आवश्यक रहेको बताउँदै दुर्गा बहादुर श्रेष्ठ लगायतका व्यवसायीहरुको ध्यान त्यसतर्फ जानु पर्नेमा जोडदिनु भयो।

विमोचित पुस्तकका प्रधान सम्पादक तथा सोही पुस्तकसँग सम्वन्धित डकुमेन्ट्रीका निर्देशक रमेश हुतुवालीले पुस्तक तथा डकुमेन्ट्रीमा नेपाल र चीनबीच शताब्दियौंदेखि प्रगाढ रहँदै आएको धार्मिक, साँस्कृतिक, व्यापारिक, सामाजिक तथा राजनीतिक सम्बन्धका महत्वपूर्ण पक्षहरु समेटिएको जानकारी दिनुभयो। द्रुत आर्थिक विकास मार्फत विश्वको नयाँ आर्थिक शक्तिको रुपमा उदाएको चीनको विकास छिमेकी मुलुकहरुको लागि समेत सहायक हुने भन्दै प्रधान सम्पादक हतुवालीले चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रतिपादित वेल्ट एण्ड रोड इनिसिएटिभ जस्तो गहन कार्यक्रमले नेपालका लागि विकासको उत्तरी ढोका खोलिदिएको समेत बताउनु भयो।

 

जानकारी तथा लेखहरु