फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उद्योग तथा व्यापार क्षेत्रमा नेपाल चीन सम्झौता

(GMT+08:00) 2017-08-14 18:34:28

नेपाल भ्रमणमा रहनु भएका चीनको वाणिज्य मन्त्रालयको वैदेशिक व्यापार विभागका उपमहानिर्देशक वाङ तङ छन र नेपालको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायबीचमा नेपाल चीन वाणिज्य सहयोग सम्बन्धी दर्जनौँ परियोजनामा हस्ताक्षर भएको छ। आज अगष्ट १४ तारिख काठमाडौँमा भएको हस्ताक्षर समारोहमा नेपालका लागि चिनिया राजदूत यु होङ पनि उपस्थित हुनुहुन्थ्यो।

नेपाल र चीनका निजी उद्योग तथा वाणिज्य कम्पनीहरुले आवास निर्माण, खाद्य सामग्री, चिया, छालाजन्य सामग्री, गलैँचा, मदिरा लगायतका सामग्रीहरुको उत्पादन तथा विक्री वितरण सम्बन्धी संयुक्त परियोजनाहरु संचालन गर्ने बारे दुई पक्षीय हस्ताक्षर भएको हो।

उक्त हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै चीनको वाणिज्य मन्त्रालय वैदेशिक व्यापार विभागका उपमहानिर्देशक वाङ तङ छनले हरेक वर्ष नेपाल र चीनबीचको व्यापार तथा लगानीको मात्रा बढ्दै गएको बताउनुभयो। उहाँले सन् २०१६ मा नेपाल र चीन बीचको ८८८ मिलियन डलर बराबरको व्यापार भएको र सन् २०१७ को जुनसम्ममा विभिन्न चिनियाँ कम्पनीहरुले नेपालमा ३६७ मिलियन डलर बराबरको लगानी गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै नेपाली लगानीकर्ता तथा निर्यातकर्ताहरुलाई चीनमा अझ बढी लगानी तथा निर्यात गर्न आग्रह गर्नुभयो। उहाँले नेपाली उत्पादनहरुको चिनियाँ बजारमा सहज प्रवेश र थप बजार विस्तारका लागि उपयोगी बनाउनका लागि आगामी वर्ष चीनमा आयोजना हुने आयातनिर्यात व्यापार मेलामा भाग लिन नेपाली व्यवसायीहरुलाई आव्हान गर्नुभयो।

नेपालको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायले चिनियाँ लगानीलाई नेपालमा स्वागत गर्दै आएको बताउनुभयो। उहाँले नेपालको चीनतर्फ हुने व्यापारघाटालाई कम गर्नका लागि चीनको आयात प्रणाली सहज हुनुपर्ने बताउनुभयो।

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनका उपप्रधानमन्त्री वाङ याङको आजबाट हुन लागेको भ्रमणको अवधिमा हुन लागेको व्यापार तथा वाणिज्य क्षेत्रका यी सहकार्य महत्वपूर्ण हुने बताउँदै उपप्रधानमन्त्रीको भ्रमणका अवसरमा नेपालले थप नयाँ सहयोग र अवसरहरु प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु