फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा गएको बाढीमा दुर्लभ वन्यजन्तु पनि बगे

(GMT+08:00) 2017-08-15 16:29:51

लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएका वन्यजन्तु समेत मरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तु बाढी र डुबानका कारण मरेको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

चितवनमा एकसिङ्गै गैँडाको दुई वर्षको बच्चालाई नारायणी नदीले बगाएपछि मृत्यु भएको छ भने बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रका तीन दर्जनभन्दा बढी कृष्णसारलाई बाढीले बगाएको छ। चिवनमा नारायणी र राप्ती नदीमा आएको बाढीले अझ बढी वन्यजन्तु मरेको हुन सक्ने विभागले अनुमान गरेको छ।

बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र जान सक्ने अवस्था नरहेकाले त्यहाँभित्र कति वन्यजन्तु मरे भन्न सक्ने अवस्था अझै नरहेको निकुञ्जका अधिकारीहरूले बताए। चितवनमा दर्जनौँ मृग, हरिण, जरायो, बँदेल लगायतका वन्यजन्तु बगाएर मरेका हुन सक्ने आशङ्का गरिएको छ। सौराहामा डुबान हुँदा हात्तीसारका हात्तीलाई पनि सुरक्षित स्थानतर्फ लगिएको छ।

कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोत्तम शर्माले बाढीले 30 देखि 40 वटा कृष्णसार बगाएको जानकारी दिनुभयो। त्यहाँ 275 वटा कृष्णसार रेकर्ड गरिएको थियो। बाढीले बगाउनु केही दिनअघि त्यहाँ चितुवाले तीन वटा कृष्णसार खाएको थियो। कृष्णसार नेपालको संरक्षित जनावर हो भने यो जनावर नेपालको बर्दियामा मात्र संरक्षण गररे राखिएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख रमेशकुमार थापाले कर्णाली र बबई नदीमा आएको बाढी र जङ्गलमा भएको डुबानबाट वन्यजन्तु तथा अन्य जैविक विविधता नोक्सानी भएको हुन सक्ने बताउनुभयो। उहाँले बाढीपछि आएको पहिरोले बबई उपत्यका नजिकको रातामाटे पोस्टमा क्षति पुर्‍याएको जानकारी दिनुभयो। पोस्टमा क्षति पुगेपछि कार्यरत कर्मचारी तथा सुरक्षामा खटिएका सैनिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।

कोसी नदीमा आएको बाढीले कोसी टप्पु क्षेत्रमा संरक्षण गरिएका अर्नालाई बगाएको अनुमान गरिएको छ। आरक्ष कार्यालयले अर्नाको बासस्थान समेत डुबानमा परेकाले त्यहाँ ठूलै क्षति भएको अनुमान गरेको छ।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले राप्ती र बबईमा आएको बाढीले निकुञ्जमा क्षति नभएपनि चुरे क्षेत्रमा आएको खोलाले व्यापक कटान गरेको जानकारी दिनुभयो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु