|
|
|
||
अब नेपालका होटलमै अमेरिकी डलर साट्न पाइने भएको छ। प्रतिग्राहक 3 सय डलरसम्म साट्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको कान्तिपुर अनलाइनले लेखेको छ।
यसअघि होटलले सेवा दिएबापतको रकम मात्रै लिन पाउने सुविधा थियो। अनौपचारिक रूपमा होटलहरूले विदेशी मुद्रा पनि सटही गर्दै आएका थिए। अब भने औपचारिक रूपमै साट्न पाउने भएका हुन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको थियो। सोही व्यवस्थाअन्तर्गत राष्ट्र बैंकको विदेशी विनिमय विभागले तीन दिनअघि परिपत्र गरी कार्यान्वयनका लागि निर्देशन दिएको छ।
करिब 7 महिनाअघि राष्ट्र बैंकले होटलहरूलाई विदेशी मुद्रा सटही अधिकार नभएको भन्दै नसाट्न निर्देशन दिएको थियो। होटलहरूले ग्राहकलाई दिएको सुविधा बराबरको रकम लिने सुविधा भए पनि विदेशी मुद्रा सटही गर्न नपाउने भन्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो। उक्त कारणले व्यवसाय सञ्चालन गर्न अप्ठयारो भएको भन्दै होटल व्यवसायीहरू सटही सुविधा माग गर्दै राष्ट्र बैंक पुगेका थिए। व्यवसायीहरूको आग्रहका आधारमा राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि प्रतिग्राहक 3 सय अमेरिकी डलरसम्म सटही गर्न सक्ने सुविधा दिएको हो। 'इजाजत प्राप्त होटलहरूले आफ्नो सेवा बिक्री गर्दा मात्र सटही दिन सक्ने व्यवस्था रहेकामा अब उप्रान्त होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम 3 सय अमेरिकी डलर बराबरसम्म सटही दिन सक्नेछन्,' राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। यसैगरी 10 हजार अमेरिकी डलर (करिब 10 लाख रुपैयाँ) मूल्यसम्मका हवाईजहाज, दूरसञ्चारका पार्टपुर्जा तथा मेडिकल इक्विपमेन्टका पार्टपुर्जा सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने भएको छ।
यसअघि यस्तो व्यवस्था थिएन। यसरी आयात भएका सामानका लागि विविनी फाराम जारी गर्न आवश्यक नभएको राष्ट्र बैंकले जनाएको छ। 'हवाईजहाज, दूरसञ्चारका पार्टपुर्जा तथा मेडिकल इक्विपमेन्टका पार्टपुर्जा आधिकारिक एजेन्टमार्फत तत्कालै विदेशबाट मगाउनुपरेमा अमेरिकी डलर 10 हजारसम्मका सामानहरू बिक्रेताले उधारोमा पठाइदिएमा त्यस्ता सामान नियमअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिनेछ,' राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, 'यस्ता सामानहरू नियमअनुसार जाँच पास भई आएको 90 दिनभित्र सम्बन्धित कागजातका आधारमा भुक्तानी पठाउन सकिनेछ।'
नेपालमा कार्यरत विदेशी नागरिकले आफूले पारिश्रमिकबापत कमाएको रकम विदेश लाने प्रक्रियालाई राष्ट्र बैंकले केही सरल बनाएको छ। नयाँ व्यवस्थाअनुसार त्यस्ता कर्मचारीहरूले पारिश्रमिक आफ्नो राष्ट्रमा पठाउन राष्ट्र बैंक धाइरहनुपर्ने छैन। सीधै आफ्नो खाता रहेको वाणिज्य बैंकमा गएर रकम पठाउन सक्नेछन्। 'आफ्नो पारिश्रमिकमा प्रचलित कानुनबमोजिम कर कट्टी पश्चात् हुन आउने रकमको बढीमा 75 प्रतिशत रकम सम्बन्धित वाणिज्य बैंकबाट पठाउन सक्नेछन्,' परिपत्रमा उल्लेख छ, 'यसका लागि सम्बन्धित बैंकलाई एक वर्षका लागि स्थायी अनुमतिपत्र दिइनेछ।'
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |