फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनको सौराहाबाट पर्यटकको उद्धार

(GMT+08:00) 2017-08-15 16:30:37

लगातारको वर्षाले गर्दा शनिबार रातिबाट डुबानमा परेको चितवनको सौराहा सामान्य बन्दै गएको छ। पानी सुकेको छ। राप्ती किनारमा रहेका होटल तथा रेस्टुरेन्टमा भने पानी बाँकी नै छ। थप 3 सय पर्यटकलाई सोमबार बिहान हेलिकप्टर, जहाज, पर्यटक बस र जिपमार्फत गन्तव्यमा पठाइएको कान्तिपुर अनलाइनले लेखेको छ। क्षेत्रीय होटल संघका अनुसार ल्यान्डमार्क होटलमा रहेका 12 जना पर्यटकलाई सिम्रिक एयरमार्फत काठमाडौं पठाइएको छ।

अहिले सौराहामा पर्यटक छैनन्। संघले मंगलबारबाट होटलको क्षति विवरण संकलन गर्ने जनाएको छ। 'सौराहा सामान्य बन्दै गएको छ,' संघ अध्यक्ष सुमन घिमिरेले भन्नुभयो, 'अधिकांश होटलमा पसेको पानी सुकेको छ, नदी किनारमा भएका होटल तथा रेस्टुरेन्टमा पानी अझै छ।' उहाँका अनुसार बुधबारसम्म अधिकांश होटल सञ्चालनमा आउनेछन्। 'राप्ती किनारका बाहेक सबै होटल सञ्चालनमा आउनेछन्,' उहाँले भन्नुभयव, 'होटलभित्र माटो, हिलो र पानी पसेको छ।' अहिले होटल सफाइ गर्ने काम सुरु भएको छ।

राप्ती छेउका होटल सञ्चालनमा आउन भने केही समय लाग्नेछ। राप्ती नदी डयाम फुटाएर बस्तीभित्र प्रवेश गर्दा सौराहा डुबानमा परेको हो। किनारका आधादर्जन रेस्टुरेन्ट (पब) बगे। केही डुबे। 'बाढी आएर बगाउलाजस्तो थिएन,' राप्ती किनारस्थित सौराहा बिच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालले भन्नुभयो, 'राति साढे 10 बजे पानी बढ्यो, केही निकाल्न पाइएन, सबै बग्यो।' उहाँले रेस्टुरेन्टको सामान केही निकाल्न नपाएको गुनासो गर्नुभयो। उहाँका अनुसार 70 लाखको क्षति भएको छ। 'केही निकाल्न पाइएन,' उहाँले भन्नुभयो, '15 मिनेटमा सबै बग्यो।' नदी बस्तीमा पस्दा समस्या भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार जंगल पब, सन्सेट भिउ रेस्टुरेन्ट, सेन्ट्रल बिच रेस्टुरेन्ट, राप्ती बिच रेस्टुरेन्ट र राप्ती रेस्टुरेन्ट बगे। किनारमा राखेका छाता केही बगेका र केही ढलेका छन्। '6 वटै गरेर 4 करोडभन्दा बढीको क्षति भएको छ,' उहाँले भन्नुभयो, 'पहिलाकै अवस्थामा आउन 3 महिनाभन्दा बढी लाग्छ।' राप्ती किनारमा साँझ–बिहान पर्यटकको भीड लाग्थ्यो। किनारमा रमाउनेको कमी हुँदैनथ्यो। कोही फोटो खिच्न त कोही वरिपरि डुलिरहेका देखिन्थे। केही सयमका लागि पर्यटकले यस्तो मज्जा लुट्न पाउने छैनन्। त्यस्तै नदी किनार आसपासका होटलका स्विमिङ पुलमा समेत क्षति पुगेको छ। 'होटलका भुइँतलाका रुम र रेस्टुरेन्टमा बढी क्षति पुगेको छ,' अध्यक्ष घिमिरेले भन्नुभयो, 'नदी छेउका होटलका स्विमिङ पुल ड्यामेज छन्, भित्री भागका होटलमा समेत बाढी पसेको छ।'

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै राप्ती र बूढी राप्ती (चित्रसारी खोला) को बाढी बस्तीमा पसेको हो। आइतबार बाढीमा फसेका पर्यटकलाई हात्ती, डुंगाको सहयोगमा उद्धार गरिएको थियो। बाढीले गर्दा त्रासमा रहेका चाइनिज, युरोपियन र आन्तरिक पर्यटकको उद्धार गरिएको थियो। शुक्रबार भएकाले आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको थियो। 6 सय पर्यटक बाढीमा फसेका थिए। सौराहामा 1 सय 10 होटल छन्। पार्किङ गरेर राखिएका 2 वटा गाडी र 3 वटा मोटरसाइकल बाढीले बगाएको छ।

अहिले सौराहा सम्पर्कविहीन बनेको छ। विद्युत् सेवा अवरुद्ध छ। सडकमा राखिएका सोलार बत्तीका पोल ढलेका छन्। सौराहा पुग्ने सडक बाढीले छियाछिया बनेको छ। बाटामा खाडल बनेर ठाउँठाउँमा पानी जमेको छ। निर्माणाधीन होटल सञ्चालनमा नआउँदै बाढीको सिकार बनेका छन्। त्यस्तै पश्चिम क्षेत्रमा रहेका रिसोर्टहरू जंगल भिल्ला, कसरा, साराङ वाइल्डलाइफ, मेघौली सेराईलगायतका होटल तथा रिसोर्टमा बाढी पसेको छ।

'भुइँतलाका 6 वटा रुमको केही निकाल्न पाइएन, प्रत्येक 10/10 मिनेटमा पानी बढ्दै गयो,' जंगल भिल्ला रिसोर्टका सञ्चालक गणेश पौडेलले भन्नुभयो, 'सबै फर्निचर ड्यामेज भएको छ, सफा गर्न पाइएको छैन।' उहाँका अनुसार रुममा हिलो र लेदो भरिएको छ। शनिबार राति 12 जना विदेशी र 3 जना नेपाली पर्यटक थिए। 050 र 059 सालमा आएको बाढीभन्दा ठूलो भएको पर्यटन व्यवसायीले बताए।

 

जानकारी तथा लेखहरु