फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीलाई चीन भ्रमणको निमन्त्रणा

(GMT+08:00) 2017-08-17 14:33:11

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमण गर्न चिनियाँ प्रधानमन्त्री ली खछ्याङको तर्फबाट नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले निम्तो दिनुभएको छ। नेपाल भ्रमणमा रहेको उपप्रधानमन्त्री वाङ याङको नेतृत्वको चिनियाँ सरकारी प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएको गोरखापत्र अनलाइनले लेखेको छ। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार चीनको निम्तोप्रति धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले उपयुक्त समयमा चीन भ्रमणमा जाने जानकारी उपप्रधानमन्त्री वाङलाई दिनुभएको छ। भेटको क्रममा दुई पक्षीय सम्बन्ध र सहकार्यका विविध पक्षबारे कुराकानी भएको जानकारी दिँदै डा. भट्टराईले सम्बन्ध अझ सुदृढ गर्नेबारे छलफल भएको बताउनुभयो।

उपप्रधानमन्त्री वाङले चीन सधैँ नेपालको राजनीतिक स्थायित्व र विकासको पक्षमा उभिएको स्पष्ट पार्दै चीनले अघि सारेको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) कार्यान्वयनबारे चासो राख्नुभएको थियो। 'नेपालले विगतदेखि लिएको निरन्तरको परराष्ट्र नीतिको उहाँले प्रशंसा गर्नुभयो,' भेटका क्रममा भएको छलफलबारे जानकारी दिँदै डा. भट्टराईले भन्नुभयो, 'सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानेबारे छलफल भयो। '

नेपालले लिँदै आएको एक चीन नीतिप्रति चिनियाँ पक्षले प्रशंसा गरेको थियो। चिनियाँ प्रतिनिधि मण्डलले चीन नेपालजस्ता छिमेकीहरूसँगै अघि बढ्न चाहिरहेको बताउँदै दुई देशको सम्बन्धलाई अझ फराकिलो बनाउन व्यापार, लगानी र जनस्तरको सम्बन्धलाई थप बढाउँदै लानुपर्नेमा जोड दिएको थियो। छलफलमा नेपालको ऊर्जा, पूर्वाधार विकासमा चिनियाँ लगानी, अन्तरदेशीय रेल सञ्चालन लगायतका विषयमा पनि छलफल भएको थियो।

 

जानकारी तथा लेखहरु