फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विराटनगर विमानस्थल सातायता बन्द

(GMT+08:00) 2017-08-18 15:34:02

बाढीको भेल पसेका कारण विराटनगर विमानस्थल एक सातादेखि अवरुद्ध छ। पानीको भेलसँगै हिलो र बालुवाले छोपिएपछि गत शुक्रबारदेखि विमानस्थल बन्द भएको थियो। विराटनगर विमानस्थलको रनवे, टयाक्सी वे, टर्मिनल भवन र सुरक्षा निकायको ब्यारेकमा चार फिटसम्म पानी जमेको थियो। वर्षा रोकिएसँगै विमानस्थलमा जमेको पानी बगेको छ। तर, रनवे र टयाक्सी वेमा एक फिटसम्म हिलो र लेदो थुप्रिएकाले समस्या भएको कान्तिपुर अनलाइनले लेखेको छ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित केसिलिया खोलाले सिँचाइको बाँध भत्काएपछि पानी पसेको थियो। नेपाली सेनाको सहयोगमा नागरिक उड्डयन कार्यालयले मंगलबारबाट हिलो र लेदो हटाउने कामलाई जारी राखेको छ। शनिबारबाट विमानस्थल सञ्चालनमा आउने जनाइएको छ।

नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले विमानस्थल सफा गर्न जेसीबी, ग्रेडर, बोल्डर र हिलो फयाँक्ने टयाक्टरको प्रयोग गरिएको बताउनुभयो। उहाँले शनिबार साँझसम्ममा सफा गर्ने काम सकिने बताउनुभयो। काठमाडौँपछि जहाज बढी उडान र अवतरण हुने यो विमानस्थल अवरुद्ध भएपछि हजारौँ यात्रु अलपत्र परेका छन्।

रनवेमा जमेको हिलो र लेदोको कारण जहाजको अवतरण र उडानमा समस्या रहे पनि हेलिकोप्टरको उडान र अवतरण भने भइरहेको छ। विमानस्थलको हेलिप्याडमा पानीले खासै नोक्सानी नपुर्‍याएको उड्डयन कार्यालयले जनाएको छ। बाढीका बेला विमानस्थलमा पार्किङमा रहेको श्री एयरलायन्सको जहाज सातापछि बिहीबार उडेको छ।

विमानस्थलको हावापानी मापन केन्द्रमा समेत पानी पसेर क्षति पुगेको छ। क्षेत्रीय हावापानी मापन केन्द्रको सब–स्टेसनमा रहेको तापमापन यन्त्र, पानीको मात्रा नाप्ने यन्त्रमा समेत क्षति पुगेको फिल्ड इन्चार्ज विकास देउजाले जानकारी दिनुभयो। यहाँबाट दैनिक उडान भर्दै आएका यती र सौर्य एयरले शनिबारबाट टिकट बुकिङ खुला गरेका छन्।

जानकारी तथा लेखहरु