फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीले बगाएर भारत पुर्‍याएको गैँडा नेपालले फिर्ता ल्यायो

(GMT+08:00) 2017-08-18 15:35:04

केही दिनअघि आएको बाढीले बगाएर भारत पुर्‍याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरिएको छ। आन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडाको हिजो उद्धार गरी आज ट्रकमा राखी चितवन ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा 42 किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको अर्यालले जानकारी दिनुभयो।

गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैँडा फेला परेको थियो। गैँडालाई आजै चितवन राष्ट्रिय निकुञ्जमा छाडिने जनाइएको छ। यसरी बाढीले पाँचवटा गैँडा बगाएको पाइएको निकुञ्जले जनाएको छ। त्यसमध्ये उद्धारै गर्नुपर्ने अवस्थाको देखिएकाले यसलाई उद्धार गरिएको हो।

एउटा गैँडा बाल्मिकी आश्रम नजिकै नेपाल भारतको सीमा क्षेत्रमा आउजाउ गरिरहेको फेला परेको र एउटा गैँडा भारततर्फ नारायणी नदी किनारको बाल्मिकीनगरस्थित जंगलको सानो टापुमा देखिएको अर्यालले जानकारी दिनुभयो। अर्को गैँडा भारतको मध्यवर्ती जंगलमा देखिएको जनाइएको छ। अर्यालको नेतृत्वमा गएको व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा गएको प्राविधिक टोलीले गैँडाको उद्धार गरेर ल्याएको हो।

जानकारी तथा लेखहरु