फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौरिकाको सनसनीपूर्ण पौडीकला

(GMT+08:00) 2017-08-19 16:08:05

14 वर्षीया ओलम्पियन गौरिका सिंहले सनसनीपूर्ण प्रदर्शन कायमै राख्दै नेपालको 20 औं राष्ट्रिय पौडी प्रतियोगितामा खेलेका पाँचै व्यक्तिगत स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा प्रतियोगिताको अन्तिम दिन शुक्रबार गौरिकाले 1 सय मिटर फ्रिस्टाइल, 1 सय मिटर बटरफ्लाई र 50 मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी कान्तिपुर अनलाइनले लेखेको छ। पहिलो दिन दुई कीर्तिमान बनाएकी उनले यससँगै खेलेका सबै व्यक्तिगत स्पर्धामा कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। उनीसहित ओसिना भारती, अनुभव सुब्बा र दिलीप थापामगरको आर्मी टिमले 4 गुणा 1 सय मिटर मिक्स रिलेमा पनि स्वर्ण जित्यो।

12 औं दक्षिण एसियाली खेलकुद (साग) मा 1 रजत र तीन कांस्य जितेकी गौरिकाले 1 सय मिटर फ्रिस्टाइलमा 1 मिनेट 0.79 सकेन्डमा पूरा गर्दै 'हिट्स' मै कीर्तिमान बनाएकी हुन्। उनले गत वर्ष आइरिस ओपनमा बनाएको 1 मिनेट 01.78 सेकेन्डको आफ्नै कीर्तिमान उछिनेकी हुन्। गौरिकाले फाइनलमा भने 1 मिनेट 02.03 सेकेन्ड लगाइन्। यसमा मध्यमाञ्चलकी तिसा शाक्य (1 मिनेट 06.22 सेकेन्ड) ले रजत र एपीएफकी डुआना लामा (1 मिनेट 11.31 सेकेन्ड) ले कांस्य हात पारे।

रियो ओलम्पिकमा 11 हजार बढी खेलाडीमा सबैभन्दा कान्छी रहेकी गौरिकाले 1 सय मिटर बटरफ्लाईमा 1 मिनेट 07.69 सेकेन्डको कीर्तिमान बनाइन्। उनले 12 औं सागको 1 मिनेट 10.94 सेकेन्डको आफ्नै कीर्तिमान सुधार गरेकी हुन्। यसमा डुआना (1:23.07) ले रजत र मध्यमाञ्चलकी लुमना शाक्य (1:50.57) ले कांस्य पदक प्राप्त गरे।

गौरिकाले 50 मिटर फ्रिस्टाइलको हिट्स 28.09 सेकेन्डमा टुंग्याउँदै 12 औं सागमा सोफिया शाहले बनाएको 28.85 सेकेन्डको कीर्तिमान तोडेकी हुन्। उनले फाइनल चरणमा भने 28.50 सेकेन्ड लगाएकी थिइन्। यसमा तिसा (30.63 सेकेन्ड) ले रजत र मध्यमाञ्चलकी अनुसिया तुलाधर (32.79 सेकेन्ड) ले कांस्य पदक जिते।

घरेलु प्रतियोगितामा दुई वर्षयता पहिलोपल्ट सहभागी गौरिकाले बिहीबार 50 मिटर बटरफ्लाई र 2 सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले 20 औं राष्ट्रिय खुला पौडी–072 मा पनि सहभागी 6 स्पर्धामा नै कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्। त्यसको 19 औं संस्करणमा 11 वर्षको छँदै उनले आठ कीर्तिमानसँगै उति नै स्वर्ण र एक रजतपदक हात पारेकी थिइन्।

लन्डनस्थित बार्नेट कोप्टहल स्वीमिङ क्लबमा पाँच वर्षयता प्रशिक्षण गरिरहेकी गौरिकाले व्यक्तिगत स्पर्धामा 32 औंपल्ट राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। उनको नाम टिम स्पर्धाका तीन कीर्तिमानमा पनि समावेश छ। 'तीनै स्पर्धामा योजनाअनुसार नै प्रतिस्पर्धा गरेर राष्ट्रिय कीर्तिमान बनाएँ,' गौरिकाले भनिन्, 'समय पनि लक्ष्यअनुसार नै निस्कियो। प्रतियोगितामा व्यक्तिगत पाँच स्पर्धामा नै रेकर्ड बनाएँ। त्यसैले सन्तुष्ट लागेको छ।' बेलायतमा दुई प्रतियोगिता त्याग्दै स्वदेशमा प्रतिस्पर्धा गर्न फर्किएकी उनले अब 13 औं साग तयारीमा लाग्ने बताइन्।आर्मीकै शुभम श्रेष्ठले पुरुषतर्फ 50 र 1 सय मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले अघिल्लो दिन 2 सय मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान बनाएका थिए।

उनले 1 सय मिटरमा स्वर्ण जित्ने क्रममा 1 मिनेट 11.24 सकेन्डको कीर्तिमान बानए। गत महिना हंगेरीमा भएको विश्व च्याम्पियनसिपमा निकालेको 1 मिनेट 11.34 सेकेन्डको आफ्नै कीर्तिमान सुधारेका हुन्। उनले 50 मिटर ब्रेस्टस्ट्रोकको हिट्समा 32.40 सेकेन्डको कीर्तिमान बनाए। यसमा उनले किरण कार्कीले 21 औं राष्ट्रिय खुला पौडीमा गत वर्ष बनाएको 32.45 सेकेन्डको कीर्तिमान उछिने। उनले फाइनलमा भने 32.82 सेकेन्ड लगाए।

दोस्रो दिन आर्मीका अनुभवले 2 सय मिटर इन्डिभिज्युयल मिड्ले, 1 सय मिटर ब्याकस्ट्रोक, 1 सय मिटर बटरफ्लाई र 1 सय मिटर फ्रिस्टाइलमा स्वर्ण जिते। 50 मिटर फ्रिस्टाइलको स्वर्ण मध्यमाञ्चलका अलेक्जेन्डर शाहले हात पारे भने महिलातर्फ डुआनाले 2 सय मिटर इन्डिभिज्युअल मिड्ले, पञ्चिमाञ्चलकी समिरा शोभा थापाले 1 सय मिटर ब्याकस्ट्रोक, तिसाले 50 मिटर र 1 सय मिटर ब्रेस्टस्ट्रोकमा सफलता हासिल गरे। दुईदिने प्रतियोगितामा पुरुषतर्फ अनुभवले सर्वाधिक नौ स्वर्ण र महिलामा गौरिकाले 6 स्वर्ण जिते। 27 स्पर्धामा सर्वाधिक सफल टिम आर्मी रह्यो। उसले 15 स्वर्ण कब्जा गर्यो। अर्को विभागीय टिम एपीएफले 7 स्वर्ण, मध्यमाञ्चलले 4 र पश्चिमाञ्चलले 1 स्वर्ण बाँडेका थिए। अंकका आधारमा एपीएफ टिम च्याम्पियन बन्यो।

 

जानकारी तथा लेखहरु