फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेपालमा बुबाको मुख हेर्ने पर्व

(GMT+08:00) 2017-08-21 15:38:17

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ। यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।

यसैगरी, आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ। मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ।

'पितृदेवो भव' अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन्।

जानकारी तथा लेखहरु