फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीले ध्वस्त भएको चितवनको पर्यटकीय क्षेत्रमा चिनियाँ पर्यटक

(GMT+08:00) 2017-08-23 14:10:44

बाढीले ध्वस्त भएको चितवनको पर्यटकीय क्षेत्र सौराहा पुगेका चिनियाँ पर्यटकहरुले स्थानीय बान्सी गाउँमा राहतका सामग्री वितरण गरेका छन्। साइनो नेपाल मिडिया सोसाइटी, क्षेत्रीय होटल संघ चितवन, युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था, स्थानीय जनप्रतिनिधि र सुरक्षाअधिकारीको उपस्थितिमा २० जना चिनियाँ फाटोग्राफरहरुले सौराहा नजिकैको बन्सी गाउँका बाढी पिडितलाई सोमबार एक समारोहका बीच लत्ताकपडा र शैक्षिक सामग्री वितरण गरेका हुन्।

बाढीका कारण सौराहाका होटलहरु डुवानमा परी क्षतिग्रस्त भएको र पर्यटकहरु अन्य क्षेत्रमा डाइभर्ट भएपछि साइनो नेपाल मिडिया सोसाइटीको पहलमा चिनियाँ पर्यटकको समूहलाई चितवन पुर्याइएको थियो। बाढीले थला परेको नेपालकै तेस्रो ठूलो पर्यटकीय क्षेत्रको पर्यटन बजारलाई पुरानै अवस्थामा फर्काउन सोसाइटीले चीनको फोटोग्राफी समूहलाई सौराहा पुर्याइएको अध्यक्ष ध्रुव पौडेलले बताउनुभयो।

चिनियाँ सञ्चारमाध्यममा छाएको डुवानको समाचारलगत्तै पर्यटकहरुले नेपाल भ्रमण रद्द गर्ने योजना बनाए थिए। सोसाइटीले औपचरिकरुपमा सुरक्षाको प्रतिवद्धता जनाएपछि चिनियाँ फोटोग्राफरहरुले राहतका सामग्रीसमेत बोकेर आएका थिए। चिनियाँ सञ्चारमाध्यमहरु, विशेष गरेर सीसीटीभीमा, बाढीबाट सयौँको हताहती र सयौँ पर्यटक अलपत्र परेको समाचार प्रवाह गरेको थियो, पर्यटक समूहका नाइके लि हुवानले भने, यो समाचार चीनमा भाइरल भएको छ र त्यसले नेपालको दक्षिणी भाग असुरक्षित छ भन्ने सन्देश चीनभरि अझै पनि ब्यप्त छ।

फोटोग्राफरहरुको टोलीको नेतृत्व गर्दै दशौँ पटक नेपाल आएका लीले उनी नेपाल र नेपाली जनताको पुरानो मित्र भएकोले राहतका सामग्रीसहित पर्यटक र सञ्चारमाध्यममले खतरा भनेको ठाउँमा पुगेको बताउनुभयो। सुनसान रहेको सौराहामा राहतसहित पर्यटक पुग्नुले त्यहाँको पर्यटन बजारलाई सकरात्मक प्रभाव पार्ने स्थानीय ब्यवसायीले बताएका छन्।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले बाढीपछि सौराहा सुरक्षित छ भन्ने कुराको प्रचार प्रसार गर्दै पर्यटन बजारलाई पुरानै अवस्थामा फर्काउन चिनियाँहरुको प्रयासले सहयोग पुग्ने बताउनुभयो । उहाँले सौराहाका होटलहरु क्रमशः नर्मल अवस्थामा आएको जानकारी पनि दिनुभयो। करिब १० दिनअगाडि आएको बाढीले सौराहाका होटलहरु डुवानमा परी २५० चिनियाँसहित करिब ६०० पर्यटकहरु अलपत्र परेका थिए।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराईका अनुसार अलपत्र परेका पर्यटकहरुलाई हात्तीमा चढाएर चित्रेसारी पुर्याई उद्दार गरिएको थियो। सयभन्दा बढी होटल भएको सौराहाबजार बाढीपछि सुनसान थियो। राहतसहित चिनियाँ पर्यटक पुगेको थाहा पाएपछि अन्य देशका पर्यटकहरु पनि सौराहामा देखिन थालेका छन्।

जानकारी तथा लेखहरु