फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

(GMT+08:00) 2017-08-24 14:03:05

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ। भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, "हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरु सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरुको निर्माण गर्नुस्।"

नेपालले ठूलो मात्रामा वैदेशिक लगानीका लागि कानूनी व्यवस्था गरेको उल्लेख गर्दै लगानी बोर्डको माध्यमबाट अरुण तेस्रो र माथिल्लो कर्णालीजस्ता ठूला आयोजनाहरुको सफल शुरुवात गर्नाका साथै हालै नेपालमा लगानी सम्मेलनको आयोजना गरी करिब १४ अर्ब अमेरिकी डलर बराबरको लगानीको प्रतिबद्धता प्राप्त हुनु पनि नेपालमा लगानीका लागि देखिएको सकारात्मक वातावरण हो भन्नुभयो।

नेपालमा पछिल्ला राजनीतिक परिवर्तनसँगै राजनीतिक स्थिरता प्राप्त भएको, नयाँ संविधान लागू भएसँगै देश अब समृद्धिको मार्गमा अघि बढेकाले लगानीको वातावरण बनेको पनि उहाँले स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री देउवाले भारत र चीनजस्ता विश्वका ठूला अर्थतन्त्रको एक छिमेकीका रुपमा रहेको नेपाल पर्यटन, व्यापार, लगानीजस्ता क्षेत्रका लागि दरिलो सम्भावना भएको देशका रुपमा रहेको उल्लेख गर्दै यसका लागि बढीभन्दा बढी मात्रामा वैदेशिक लगानी भित्र्याउन के कस्तो वातावरण बनाउनुपर्छ त्यसका लागि नेपाल सरकार तयार रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री देउवाले आफू करिब २० वर्षअघि प्रधानमन्त्री हुँदा हाल भारतले शुरु गरेको जिएसटी कर प्रणालीजस्तै भ्याट कर प्रणाली नेपालमा लागू गरेको स्मरण गर्दै हाल नेपालले आर्थिक विकास र सुधारको नयाँ अभियान शुरु गरिसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, "वैदेशिक लगानी, सार्वजनिक निजी साझेदारी, विशेष आर्थिक क्षेत्रको विकास, औद्योगिक विस्तार, श्रम, बैकिङजस्ता कैयौँ क्षेत्रका लागि आवश्यक नीति र कानूनी सुधारका काम गरिएको छ जसले नेपालमा लगानीका लागि आवश्यक वातावरण निर्माणमा सघाउ पुर्याउने छ।"

सो कार्यक्रममा भारतको पेट्रोलियम र प्राकृतिक ग्याससम्बन्धी राज्यमन्त्री धर्मेन्द्र देवेन्द्र प्रधानले नेपालले सुरक्षा दिन सक्ने हो भने नेपालको साझेदारीमा भारतले ग्यासको पाइपलाइन बिच्छ्याउने र यसले दुवै देशको हित गर्ने बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएको र नेपाल सरकारले निजी क्षेत्रको विकासका लागि आवश्यक नीति र वातावरण पनि बनाएको भन्दै नेपालमा संयुक्त लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको अनलाइन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु