फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूको विदेश निर्यातमा वृद्धि

(GMT+08:00) 2017-08-24 14:06:52

नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूको विदेश निर्यातमा वृद्धि भएको छ। विगत पाँच वर्षको तथ्याङ्क हेर्दा पाँच प्रतिशतले घटेको निर्यात अहिले १३ प्रतिशतले बढेको नेपाल हस्तकला महासङ्घले जनाएको छ। महासङ्घका अनुसार सन् २०१३ को तुलनामा २०१४ मा १५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१५ मा ०.४८ प्रतिशते मात्र वृद्धि भएको निर्यात सन् २०१७ मा आइपुग्दा १३ प्रतिशतले वृद्धि भएको छ। सन् २०१५ मा निर्यातको मात्रा घट्नुको कारण भूकम्प प्रभाव रहेको महासङ्घले जनाएको छ।

हस्तकला महासङ्घले आर्थिक वर्ष २०७३÷७४ मा पाँच अर्ब ३९ करोड ३८ लाख ९३ हजार ९५६ रुपियाँको सामानहरू निर्यात गरेको थियो । विगतका केही वर्षको तुलनामा हाल निर्यात राम्रो भएको महासङ्घका महानिर्देशक डा. गोविन्द रेग्मीले बताउनुभयो। महानिर्देशक डा. रेग्मीका अनुसार हाल परम्परागत पुराना उत्पादनको भन्दा नयाँ उत्पादनहरूको माग बढी छ । उहाँले भन्नुभयो, अहिले उत्पादन र निर्यातको अवस्था एकदमै राम्रो छ, भूकम्पका बेला अलि कम थियो, अहिले राम्रो भइसक्यो, राम्रो उत्पादन र निर्यात भनेको बढीमा १५ प्रतिशतसम्म वृद्धि भएको रेकर्ड छ।

धातु र कपडाबाट उत्पादित हस्तकलाका सामग्रीहरूको माग बराबरी जस्तो हुने गरेको छ। कपडाहरूमा पस्मिना, उन, कटन, फलाटिन, सिल्क, अल्लो र ढाकाबाट उत्पादित सामग्रीहरू बढी माग हुने गरेको छ। त्यस्तै, सिल्भर, मेटल, काठ, थान्का, ढुङ्गा, छाला, बेतबाँस, प्लास्टिकलगायतका १६ प्रकारका उत्पादनको माग पनि छ। नेपाली हस्तकलाका सामानहरू झण्डै ६० वटा देशमा निर्यात हुन्छन्। मुख्यगरी अमेरिका, चीन, जर्मनी, जापान, यूके, डेनमार्क, फ्रान्स र क्यानडामा निर्यात हुँदै आएको छ।

जानकारी तथा लेखहरु