फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीद्वारा भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

(GMT+08:00) 2017-08-25 15:38:43

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको पहिलो उच्चस्तरीय छिमेकी पाहुनाका रूपमा राष्ट्रपति अतिथि भवनमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँसँग हिजो बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बिहीबार साँझ देउवाले राष्ट्रपति कोविन्द र उपराष्ट्रपति वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। देउवाले दुवैसँग नेपाल–भारत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल गर्नु भएको छ। बिहीबारै देउवाले महात्मा गान्धीको समाधीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो।

प्रधानमन्त्री देउवालाई भारतीय राष्ट्रपति भवनमा बिहीबार बिहान आयोजित विशेष समारोहमा 'गार्ड अफ अनर' दिइएको थियो। उक्त समारोहमा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नु भएको थियो। प्रधानमन्त्री देउवा मोदीको निमन्त्रणामा नेपाली जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार दिल्ली उड्नु भएको थियो। उहाँका साथमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, पर्यटन नागरिक उड्डयन तथा संस्कृतिमन्त्री जितेन्द्र देवलगायत सरकारी अधिकारी, सांसद, कर्मचारी, व्यापारी र सहयोगी छन्। देउवाले शुक्रबारदेखि धार्मिक यात्रा थाल्नुहुनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर भएको हो।

तीमध्ये चार समझदारीपत्र भूकम्पपछिको पुनर्निर्माणमा भारतले दिएको सहयोग कार्यान्वयन गर्नेसम्बन्धी छन्। भारतले 50 हजार घर निर्माणमा दिने अनुदान कसरी खर्च गर्ने भन्ने मोडालिटीसँग सम्बन्धित छ। समझदारीसँगै घर निर्माण प्रक्रिया सुरु हुने जानकारी दिइएको छ। यसअगाडि मोडालिटी तथा परियोजनाका बारेमा सहमति हुन नसक्दा काम अघि बढ्न सकेको थिएन। अर्को समझदारी स्वाथ्य क्षेत्रका पूर्वाधार निर्माणसँग सम्बन्धित छ। यस्तै, सांस्कृतिक क्षेत्रका सम्पदा पुनर्निर्माण तथा शिक्षा क्षेत्रका पूर्वाधार पुनर्निर्माणसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।

पाँचौं समझदारी मेची पुलको लगानी बाँडफाँड तथा त्यसको निर्माण प्रक्रियासँग सम्बन्धित छ। यो पुल भारत सरकार र एसियाली विकास बैंकको संयुक्त पहलमा बन्न लागेको हो। 1 अर्ब 58 करोड लगानीमा नेपाल र भारतको सिमानामा यो पुल निर्माण हुन थालेको हो। काँकडभिट्टा–पानीट्यांकी बाइपासको स्तरोन्नतिका रूपमा यसको निर्माण हुन थालेको हो। एसियन हाइवेको अन्तिम बिन्दु हुने यो पुल 6 लेनको हुनेछ। यस पुलले दुवै देशको 'कनेक्टिभिटी'लाई प्रवद्र्धन गर्ने र यसले सीमापार व्यापार वृद्धिमा सहजीकरण गर्ने अधिकारीहरूले बताए। यो पुलको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ।

छैटौं समझदारीपत्र गैरकानुनी रूपमा ओसारपसार हुने लागूपदार्थ नियन्त्रणसम्बन्धी छ। सातौं समझदारीपत्र दुवै देशका सामान तथा उत्पादनको आयात तथा निर्यातमा देखा पर्ने गुणस्तर मापदण्डसम्बन्धी समस्या समाधान गर्ने विषयमा छ भने आठौं समझदारी चार्टर्ड एकाउन्टका क्षेत्रमा सहकार्य बढाउनेसँग सम्बन्धित छ। आठौं समझदारीबारे पहिले छलफल भए पनि त्यो निजी क्षेत्रसँग सम्बन्धित भएकाले खासै गृहकार्य भएको थिएन।

जानकारी तथा लेखहरु