फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री देउवा भारतको हैदराबादमा

(GMT+08:00) 2017-08-26 14:40:46

भारतको पाँचदिने राजकीय भ्रमणको मुख्य राजनीतिक भेटघाट सम्पन्न गरेर नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तेलङ्गना राज्यको हैदराबाद पुग्नु भएको छ। हिजो अपराह्न हैदराबाद पुगेलगत्तै देउवाले तेलङ्गना राज्यले सूचना तथा प्रविधि क्षेत्रमा हासिल गरेका उपलब्धिबारे जानकारी लिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

उहाँले सुरुमा इन्फोवेज क्याम्पसको भ्रमण गर्नुभयो। त्यहाँ भएको कार्यक्रममा आयोजकले देउवालाई तेलङ्गना राज्यले सूचना प्रविधिलाई राज्यका हरेक निकायमा कसरी प्रयोग गरिरहेको छ भन्ने जानकारी गराएका थिए। त्यसै सिलसिलामा प्रधानमन्त्रीलाई कृषि, स्वास्थ्यलगायत क्षेत्रमा सूचना प्रविधिको प्रयोगबारे पनि जानकारी दिइएको थियो।

आयोजकले यहाँ प्रयोग भएका सूचना प्रविधिलाई नेपालमा पाइलट परियोजनाका रूपमा कार्यान्वयन गर्न सकिने जनाउ दिएका थिए। कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यहाँ प्रयोग भएका सूचना र प्रविधिलाई नेपालमा पनि प्रयोग गर्नेबारे सोचविचार गर्ने बताएका थिए।

प्रधानमन्त्री देउवाले आईटी हबको समेत अवलोकन गर्नु भएको थियो। त्यहाँ उहाँलाई सूचना र प्रविधिको नवीनतम प्रयोगबारे जानकारी गराइएको थियो। प्रधानमन्त्री शुक्रबारै तेलङ्गना सरकारका गभर्नरले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनयभो। भेटवार्तामा सहभागी भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दुई देशबीच सम्बन्ध मजबुत बनाउने तथा नेपाल र तेलङ्गना राज्यबीच सहकार्यका क्षेत्र पहिल्याउने विषयमा छलफल भएको जानकारी दिनुभयो।

प्रधानमन्त्री देउवा आज शनिबार हैदराबादबाट तिरुपति जाने कार्यक्रम छ। त्यहाँबाट उहाँ बोधगया जाने कार्यक्रम छ।

जानकारी तथा लेखहरु