फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ–सिआन सिधा उडानमा तिब्बत एयरलाइन्स

(GMT+08:00) 2017-08-27 15:10:57

चिनियाँ पर्यटकको वृद्धि तथा चीन–नेपाल व्यापारिक चाप बढ्दै गएसँगै चीनको तिब्बत एयरलाइन्सले हिजो शनिवारदेखि काठमाडौँदेखि चीनको पुरानो सहर सिआनसम्म सिधा उडान सुरू गरेको छ। यसअघि असार 5 गतेदेखि सछ्वान प्रान्तबाट छङ्तु–काठमाडौं उडान भर्दै आएको तिब्बत एयरलाइन्सले दोश्रो सीधा उडान पल्लो शान्सी प्रान्तको राजधानी सिआनबाट थालेको नेपाल खबर अनलाइनले लेखेको छ। त्यहाँबाट काठमाडौं हवाई उडान 4 घण्टामा पूरा हुनेछ। शुभारम्भ उडानमा विमानले प्रत्येक यात्रुका सिटमा नेपालको पहिचान झल्काउने एक सिंगे गैंडाको खेलौना सजाइदिएको थियो।

नेपालमा चाइना साउदर्न, चाइना इस्टर्न, सछ्वान एयरलाइन्स र एयर चाइनाका साथै तिब्बत एयरलाइन्सले उडान भर्दै आएका छन्। छङ्तु–काठमाडौं जस्तै सिआनबाट पनि हप्तामा चारवटा उडान हुनेछन्।

तिब्बत एयरलाइन्सका मार्केटिङ कमिटीका प्रतिनिधिले शनिवार आयोजित उद्घाटन समारोहमा भने,'यस उडान रूटमा सछ्वानका हिमाली दृश्य, सगरमाथा पर्वत श्रृङ्खला, विशाल तालतलैयाहरू र सुन्दर प्राकृतिक दृश्यहरू देख्न सकिने भएकाले पर्यटक यात्रुहरू लोभिनेछन्।'

तिब्बत एयरलाइन्सको सिआनबाट यो नै पहिलो सिधा काठमाडौं उडान हो भने यसपछि सिआन शहरबाट अन्तर्राष्ट्रिय उडान हुने चिनियाँ विमानको संख्या 49 पुगेको छ। प्राचीन सहर सिआन र नेपालको काठमाडौंबीच भगिनी सम्बन्ध छ भने चीनले यस सहरलाई एक पेटी एक मार्गको महत्वपूर्ण ढोकाको रूपमा लिने गरेको छ।

सिआनमा अध्ययनरत नेपाली विद्यार्थी तथा व्यापारीहरू यो सिधा उडानबाट लाभान्वित हुनेछन्। 'पहिला सिआन पुग्न चाइना इस्टर्नबाट खुन्मिङ हुँदै काठमाडौ एकैदिन पुग्न सकिन्थ्यो तर फर्किदा एक रात बस्नुपर्ने हुन्थ्यो',सिआन च्याओथोङ युनिभर्सिटी, इन्टरनेश्नल स्टुडेन्ट एम्बास्डर समेत रहेका मास्टर्स अफ डेन्टल सर्जरीमा अध्ययनरत कृष्णप्रसाद रेग्मीले भन्नुभयो, 'अव विद्यार्थीलाई निकै सजिलो हुने भयो।'

त्यस्तै चाइना साउदर्नले पनि क्वाङ्चौ हुँदै र एयर चाइनाले छङ्तु हुँदै काठमाडौं पुर्याउने भएपनि ती दुवै उडानमा आउँदा जाँदा नै एक रात बस्नुपर्ने भएकाले यात्रुलाई झन्झटिलो हुने गर्थ्यो।

जानकारी तथा लेखहरु