फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रम देउवा भारत भ्रमण सकेर स्वदेश फिर्ता

(GMT+08:00) 2017-08-28 14:06:37
 नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण दुई देशबीच सम्बन्ध उचाइमा पुर्‍याउन र राष्ट्रहितप्रति सफल रहेको उल्लेख गर्दै आफूले 'खोट लाग्ने कुनै काम नगरेको' बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। 'भ्रमण सफल र दुईपक्षीय सम्बन्ध उचाइमा पुर्‍याउन उपयोगी भएको छ,' पाँचदिने भ्रमण सकेर आइतबार साँझ काठमाडौँ उत्रिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, 'नेपाल र भारतबीचको विविध पक्षमा छलफल भएका छन्, पुराना योजना अघि बढाउने सहमति भएको छ।'

'नेपालको शिर कतै गिरेको छैन, झन् समझदारी बढेको छ, दायरा फराकिलो भएको छ,' केही समयदेखि थाती रहेका कतिपय विषय अघि बढाउन सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, 'यो भ्रमण सफल, सबल र मुलुक हितका लागि निकै उपयोगी भयो।' भ्रमणका क्रममा 46 बुँदे संयुक्त विज्ञप्ति जारी भएको थियो। आफ्नो भ्रमणका विषयमा चलेको हल्लाप्रति बेखुसी देखिएका देउवाले विदेशी मामिलामा के बोल्ने के नबोल्नेबारे आचारसंहिता नै बनाएर अघि बढ्न आफू तयार रहेको बताउनुभयो। 'राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ,' उहाँले भन्नुभयो, 'मैले भ्रमणका क्रममा खोट लाग्ने कुनै काम गरेको छैन।'

समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेर फर्केका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेले चर्को आलोचना गरिरहेको अवस्थामा आफूले 'छिमेकमा गएर मुलुकको शिर झन् उचो पार्ने काम गरेको' दाबी गर्दै हल्लाको पछि नलाग्ने बताउनुभयो। 'नजिकको छिमेकमा यहाँको यथार्थ कुरा भनेको हो, जुन विषय हामीले बताउँदै आएका पनि हौं,' उहाँले भन्नुभयो।

'उनीहरूले पनि देखिरहेको विषय र चासो राखिरहेको विषयमा यथार्थ कुरा राख्दा केही बिग्रँदैन। आफ्नो देशभित्रको यथार्थ कुरा सुनाएको हँ', जुन कुरा सबैलाई जानकारी छ र सहमतिको पहल गर्ने भनेको हुँ,' उहाँले भन्नुभयो। 'मैले नराम्रो कुरा बोलेको छैन, आगामी दिनमा कहाँ के भन्ने त्यसको साझा सहमति गरौं, नियम बनाऔं,' उहाँले भन्नुभयो, 'सहमति गरेर नै संविधानको सर्वस्वीकार्यता बढाउँदै लैजाने विषयमा पुन: पहल गर्नेबारे बोल्नु नराम्रो होइन।' मुलुकमा लगानी ल्याउने, दुईपक्षीय सहकार्य गर्ने, सडक, रेलमार्ग बनाउने जस्ता विषयमा कुरा भएको पनि उहाँले उल्लेख गर्नुभयो। नेपालका सामान भारतीय बजारमा सहज पहुँचलगायतका मुद्दामा छलफल भएको पनि उहाँले बताउनुभयो।

सप्तकोसी उच्च बाँधबारे आफूले स्पष्ट धारणा राख्दै गुमेको विश्वास जित्न पर्ने बताएको जानकारी देउवाले दिनुभयो। पहिले बाँध बनाउँदाको मुआब्जा नै स्थानीय बासिन्दाले नपाएकाले जनतामा उच्च बाँधले लाभ हुन सक्ने विश्वास नभएको र त्यो विश्वासका लागि आफूले पहल गरेको उहाँको दाबी थियो। 'पुराना क्षतिपूर्ति र अहिले पनि के गर्ने भन्ने विषयमा जानकारी दिएपछि जनतामा विश्वास हुने र काम अघि बढ्ने धारणा राखेको हुँ,' उहाँले भन्नुभयो।

प्रधानमन्त्रीले फास्ट ट्रयाक नेपाली सेनाले बनाउन लागेको तर त्यसमा भारतीय सहयोगसमेत आवश्यक पर्ने जानकारी उनीहरूलाई दिएको बताउनुभयो। त्यस्तै धारणा निजगढ विमानस्थलबारे पनि राखेको उहाँले उल्लेख गर्नुभयो। भारत भ्रमणका क्रममा दुई दिन राजनीतिक भेटघाटपछि प्रधानमन्त्री देउवा हैदरावाद र विहार पुग्नुभएको थियो। विहारमा पनि डुबान र सीमामा बनेको संरचनाबारे छलफल भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो। भारतका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रतिपक्षी दलका नेतालगायतलाई देउवाले भेट्नु भएको थियो।

जानकारी तथा लेखहरु