फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले निर्माण गरिरहेको रसुवागढी जलविद्युत आयोजना निर्माण कार्य तीव्र रुपमा अगाडि बढ्दै

(GMT+08:00) 2017-08-29 18:02:21
गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे तथा थुमनको सिमानामा 'रन अफ रिभर' प्रकृतिको 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। डयाम साइडमा बाँध, भूमिगत पानी थिग्राउने पोखरीको निर्माण, भूमिगत विद्युतगृह निर्माण र मुख्य सुरुङमार्गको काम एकै साथ भइरहेको आयोजना प्रमुख छवि गैरेले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। अधिकांश संरचना भूमिगत रहेको यस आयोजनाको सिभिलतर्फको निर्माण चिनियाँ ठेकेदार कम्पनी 'चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन' ले गरिरहेको छ। हालसम्म करिब 40 प्रतिशत निर्माण कार्य सम्पन्न भएको गैरेले बताउनुभयो। 'समग्रमा आयोजनाको भौतिक प्रगति सन्तोषजनक छ,' उहाँले भन्नुभयो। 2070 माघदेखि सुरु निर्माण कार्य भूकम्प र नाकाबन्दीका कारण स्थगित भएको थियो। त्यस्तै आयोजना स्थलमा पहिरो गएपछि सुरक्षाको कारण देखाउँदै गत वर्ष साउनमा ठेकेदार कम्पनी काम छाडी हिँडेको थियो।

रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी प्रमुख माधव कोइरालाका अनुसार चिनियाँ कम्पनीसँग वार्ता र छलफलपछि उनीहरू काममा फर्केका छन्। उहाँले भन्नुभयो, 'अहिले निर्माण कार्यले तीव्रता पाएको छ।' चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीहरूले निर्माण सुरु गरेका आयोजनाहरूमध्ये रसुवागढी जलविद्युत् आयोजना सबैभन्दा ठूलो हो। चिलिमेले रसुवागढी 111 मेगावाट, सन्जेन 42.5 मेगावाट, माथिल्लो सान्जेन 14.8 मेगावाट र मध्य भोटेकोसी 102 मेगावाटमा लगानी गरेको छ। रसुवागढी जलविद्युत् कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरण संस्थापक सेयरधनी रहेका छन्।

आयोजनाको कुल लागत 13 अर्ब 68 करोड 42 लाख रुपैयाँ रहेको कोइरालाले बताउनुभयो। भूकम्प र नाकाबन्दीको चपेटामा परे पनि आयोजनाको लागत भने नबढ्ने उहाँले दाबी गर्नुभयो। आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको 33 प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको 18 प्रतिशत लगानी छ। उक्त आयोजनामा रसुवावासीको 10, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको 19, ऋणदाता संस्थाका कर्मचारीको 1, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको 3.5 र सर्वसाधरणको 15 प्रतिशत लगानी रहनेछ।

भोटेकोसी नदीमा रसुवागढीभन्दा करिब 4 सय मिटर तल बाँध बाँधी 4 हजार 2 सय मिटर लामो मुख्य सुरुङ तथा 3 सय 13 मिटर लामो 'पेनस्टक पाइप' बाट 3 वटा टर्वाइनमार्फत 111 मेगावाट विद्युत् उत्पादन हुनेछ। सन् 2019 को अन्तिममा तीनवटै टर्वाइनबाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख गैरेले बताए। रसुवागढी जलविद्युत् आयोजनाबाट वार्षिक 613.87 गेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सबा करोड आम्दानी हुनेछ। दु्रत गतिमा अगाडि बढिरहेको आयोजना स्थलमा ट्राफिक जामले समस्या सिर्जना भएको छ। ट्राफिक समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत राजनीतिक दलहरूसँग पहल भइरहेको प्रमुख गैरेले बताउनुभयो।

जानकारी तथा लेखहरु