फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यार्साबाट 1 करोड रुपैयाँ राजस्व

(GMT+08:00) 2017-08-29 18:03:54

यार्सागुम्बुको छोडपुर्जी दिएबापत जिल्ला वन कार्यालय बझाङले 1 करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत वर्षभन्दा झन्डै 40 लाख रुपैयाँले बढी हो। यार्साको उत्पादन बढेसँगै वन कार्यालयले उठाउने राजस्वमा वृद्धि भएको हो। विगत 4/5 वर्षदेखि यार्साको उत्पादनमा ह्रास आइरहेकामा यस वर्ष बढेको छ। वन कार्यालयले जिल्ला बाहिर यार्सागुम्बु लैजाने अनुमति दिँदा प्रतिकिलो 25 हजार रुपैयाँ राजस्व लिने गरेको कान्तिपुर अनलाइनले लेखेको छ। यस वर्ष करिब 4 सय किलोग्राम यार्साको संकलन अनुमति लिएकामा 3 सय 68 किलो निकासी भइसकेको छ। यसबाट 92 लाख रुपैयाँ राजस्व संकलन भइसकेको वन कार्यालयले जनाएको छ। बाँकी यार्सा पनि यसै महिनाभित्र जिल्ला बाहिरिइसक्ने र राजस्व 1 करोड रुपैयाँको हाराहारीमा पुग्ने वन कार्यालयका नायब सुब्बा गजाधर जोशीले जानकारी दिनुभयो। यार्सागुम्बुबापत संकलन भएको यो राजस्व 6 वर्षयताकै बढी हो। 070 सालमा 3 सय 82 किलो यार्साको राजस्व 95 लाख 50 हजार रुपैयाँ संकलन गरेको तथ्यांक छ।

यार्साको उत्पादनमा आएको गिरावटले बझाङ हिमाली भेगका बासिन्दाको जनजीवनमा पनि असर परेको थियो। झन्डै 10 वर्षसम्म मजदुरीका लागि भारत जान बन्द भएका काँडा, सुर्मा, दौलीचौर, दहबगर, दाँतोलालगायतका बासिन्दाहरू भारतको मजदुरीमा जान सुरु गरेका छन्। कोही खेतीपाती र पशुपालनतिर लागेका छन्। कतिपयले सदरमुकाममा बनाउन सुरु गरेका घरहरूसमेत 2/3 वर्षदेखि अधुरै छन्। यार्साका कारण एकाएक अकासिएको सदरमुकामको जग्गाको मूल्य पनि पछिल्लो समय सस्तिन थालेको थियो।

यस वर्ष यार्साको उत्पादनमा वृद्धि भएपछि संकलकहरू खुसी छन्। गत वर्ष 3 सय ग्राम यार्सा पाएका दौलीचौरका गणेश बोहराको परिवारले यस वर्ष 1 किलो 5 सय ग्राम भेटिएको बताउनुभयो। 'सबैले यो वर्ष पहिलाभन्दा बढी यार्सा भेट्टाएका छन्,' बोहराले भन्नुभयो, 'यो वर्ष 4/5 वर्ष पहिले जस्तै गरी यार्सा पाइएको छ।' यो वर्ष काँडाको राइढुंगी, माझा, फरालखेत, स्याङवन र सुर्मा गाउँपालिकालगायतका क्षेत्रमा यार्सागुम्बु राम्रो पाइएको संकलकले बताए। 'गत वर्ष दिनभर खोज्दा धेरै भेट्टाउनेले 20 वटा मात्र पाउँथ्यो,' सुर्माका लखन बोहराले भन्नुभयो, 'यो वर्ष एकैदिन 1 सयसम्म पनि भेटाए।'

हिउँ पर्न पुस महिनादेखि नै सुरु भएर वैशाखसम्म बेलाबेलामा परेकाले यस वर्ष यार्सा सप्रिएको संकलकको अनुमान छ। गत वर्ष बर्खामा वर्षा राम्रै भएकाले यार्सा उत्पादन बढेको हुन सक्ने काँडाका वसन्त बोहराले बताउनुभयो।

जानकारी तथा लेखहरु