फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भाडादर वृद्धि नगरेपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाएनन्

(GMT+08:00) 2017-08-30 17:44:45

सार्वजनिक सवारी साधनको भाडादर वृद्धि नगर्दासम्म यातायात व्यवसायीहरूले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विगत पाँच वर्षदेखि भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने, जाँचपास सहज हुनुपर्ने र केरियर (बसको छत) पनि राख्न पाउनुपर्ने माग गरेको छ। माग पूरा नभए अग्रिम टिकट बुकिङ खुला गर्न नसकिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

विगतमा जस्तै यसपटक पनि चाडबाडका अवसरमा यात्रुवाहक सवारी साधनले मनोमानी भाडा उठाउने र भाडा वृद्धि गर्ने काम यसपटक पनि दोहोर्‍याउन व्यवसायीहरू सक्रिय भएका छन्। सरकारले यात्रुवाहक सवारी साधनबाट केरियर हटाउने निर्णय गरेको छ तर व्यवसायीहरूले भने राख्न पाउनुपर्ने माग गरिरहेका छन्। अध्यक्ष खनालले भन्नुभयो ''केरियर नराखी सम्भव नै छैन, त्यसैले केरियर राख्न पाउनु पर्‍यो अनि भाडादर समायोजन हुनु पर्‍यो यी कुरा नहुँदासम्म अग्रिम बुकिङ खुलाउन सकिँदैन। ''

यातायात व्यवस्था विभागले दशैँको लागि सवारी साधनको टिकट अग्रिम बुकिङ खुला गर्न आग्रह गरे पनि व्यवसायीहरूले भने हालकै भाडादरमा बुकिङ खुलाउन तयार छैनन्। गत असारदेखि यातायात व्यवसायीहरू भाडा समायोजन गर्न विभागलाई निरन्तर दबाव दिँदै आएका छन्। व्यवसायीहरूको सहभागितामा विभागले पनि साउनमा भाडा समायोजन समिति गठन गरेर काम गरेको थियो। समितिले प्रतिवेदन तयार गरेर विभागलाई बुझाएको थियो। विभाग र व्यवसायीहरू साउन महिनामै भाडा समायोजनका नाममा वृद्धि गर्ने अन्तिम तयारीमा थिए तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अस्वीकार गरेपछि विभाग पछि हटेको थियो।

विगत चार वर्षदेखि सार्वजनिक सवारीको भाडादर समायोजन नभएको र बजार भाउ महँगो भएको भन्दै व्यवसायीले भाडा वृद्धिको माग गरिरहेका छन्। एक महिना अघि भाडा वृद्धि गर्न असफल भएपछि दशैंलाई प्रभाव पारेरै भए पनि जनदबाब र यात्रुलाई सास्ती खेपाएरै भए पनि भाडा वृद्धि गराएरै छाड्ने दाउमा छन् व्यवसायीहरू।

यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायीहरूसँग आइतबार बैठक आयोजना गरेको थियो तर बुकिङ खुला गर्न सहमति हुन नसकेपछि पुनः बैठक बस्ने गरी सकिएको थियो।

पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा भाडादर समायोजनको लागि 35 प्रतिशत आधार मानिन्छ। बाँकी 65 प्रतिशत आधार गाडीको मूल्य, बैङ्कको ब्याज, मजदुर ज्याला, लुब्रिकेन्ट, मोटर पाटर्सहरू लगायतका 18 वटा पाट्र्सको बजार मूल्यका आधारमा मूल्य समायोजन गरिन्छ। हाल यी 65 प्रतिशत आधारभित्र रहेका पाटर्सहरूको मूख्य वृद्धि भएका कारणले भाडादर समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग छ।

पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपियाँ मूल्य घट्दा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्नुपर्ने प्रावधान छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार 2069 सालदेखि 65 प्रतिशत आधारको भाडा समायोजन भएको छैन। उनीहरूले तेलको मूल्य घटे पनि अन्य सामानको मूल्य बढेको भन्दै भाडा वृद्धिका लागि सरकारलाई तीव्र दबाब दिँदै आएका छन्। यातायात व्यवस्था विभागले भने अग्रिम टिकट बुकिङ खुला गर्न पहल भइरहेको जनाएको छ। विभागले भदौ 15 गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने योजना बनाएको थियो तर व्यवसायीहरूले अस्वीकार गरेका छन्

जानकारी तथा लेखहरु