फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालबीचको रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाका घोषित

(GMT+08:00) 2017-08-31 13:53:47

झण्डै तीन वर्षदेखि नेपाल–चीनबीच एउटा मुख्य नाकाको रुपमा सञ्चालन हुँदै आएको रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नती गरिएको छ। दुई देशबीचको नाकालाई अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गरिएसँगै अब रसुवागढी–केरुङ नाका भएर नेपाली र चिनियाँसँगै तेस्रो देशका नागरिक समेत आवतजावत गर्न सक्ने नेपाल खबर अनलाइनले लेखेको छ।

चीनले यो नाकाको अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरणसँगै बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना कार्यान्वयनमा सहयोग पु्ग्ने अपेक्षा गरेको छ। दक्षिण एसिया, खासगरी भारतसँग ब्यापार मार्गका रुपमा विकास गर्ने लक्ष अन्तर्गत चीनले यो नाकालाई अन्तर्राष्ट्रिय नाकामा रुपमान्तरण गरेको हो।

बुधबार चीनको स्वायत्त प्रदेश तिब्बतको राजधानी ल्हासामा नेपाली महावाणिज्य दूतावाससँग मिलेर तिब्बत सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार, 14 भदौदेखि नै रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकामा स्तरन्नोती गरिएको जानकारी दिइएको थियो।

घोषणा कार्यक्रममा तिब्बत सरकारका सहायक अध्यक्ष लुओ मेइले केरुङ–रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गर्न पाउँदा खुशी लागेको बताउनुभयो।

चीनतर्फ यो नाकाको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतीको कार्य लगभग पूरा भएको छ', सहायक अध्यक्ष लुओको भनाइ उद्धृत गर्दै ल्हासास्थित महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले भन्नुभयो, 'यो नाकालाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरेबाट दुई देशबीचको ब्यापार, पर्यटन तथा जनस्तरमा सम्पर्क अभिवृद्धि हुनुको साथै यसबाट चीनको बेल्ट एण्ड इनिसिएटिभ बीआरआई परियोजना कार्यान्वयनमा समेत सहयोग पुग्नेछ।'

15 मंसिर 2071 देखि द्विपक्षीय रुपमा सञ्चालनमा आएको यो नाकालाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गर्नेबारे दुई महिनादेखि नेपाल र चीन सरकारका परराष्ट्र मन्त्रालयबीच पत्राचार हुँदै आएको थियो।

चीनको मुख्यभूमीबाट तिब्बतको ल्हासा हुँदै सिगात्सेसम्म आइसकेको रेलमार्ग तीन वर्षभित्रै केरुङ जोड्ने गरी काम भइरहेको छ। नेपाल र चीनबीच केरुङबाट उक्त रेलमार्ग काठमाडौँ हुँदै पोखरा र लुम्बिनीसम्म पुर्याउने तयारी अन्र्तगत छलफल भइरहेको छ।

नेपाल र चीनबीचको पुरानो नाका तातोपानी–खासा भूकम्पपछि बन्द रहेको अवस्थामा रेलमार्ग समेत जोड्ने तयारी भइरहेको रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिएको हो। स्तरन्नोतीसँगै भारतीय र अन्य देशका नागरिक समेत यो नाका भएर आवतजावत गर्न सक्नेछन्। तातोपानी–खासा नाका बन्द हुनुअघि यो नाका भएर धेरै भारतीय तीर्थयात्री तिब्बतको कैलाश मानसरोबर जाने गरेका थिए।

भूकम्पपछि यो नाका बन्द भएसँगै तिब्बत जाने भारतीय तीर्थयात्रीले नेपालको बाटो धेरै मात्रामा प्रयोग गर्न छाडेका थिए भने चीन र भारतको नाथुला नाका भारतीय तीर्थयात्रीका लागि खुलाइएको थियो।

तर चीन–भुटान सिमाको दोक्लममा चीन र भारतबीच तनाव बढ्ने क्रमसँगै बन्द भएको सिक्किमको नाथुला नाका तत्काल खुल्ने संकेत छैन। यही बेला रसुवागढी–केरुङ नाका यदि तिब्बत जाने भारतीय तीर्थयात्रीका लागि पनि खुलाउने हो भने त्यसले नेपालको पर्यटन व्यवसाय थप फस्टाउने छ।

ल्हासाको कार्यक्रममा महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजनामा हस्ताक्षर गरिसकेको अवस्थामा यो नाकाको स्तरन्नोती अवश्यक रहेको जनाउनुभयो।

'भूकम्पपछि अवरुद्ध भएको ऐतिाहासिक तातोपानी–खासा नाका पनि पुनः सञ्चालनमा ल्याएर दुई देशको सहमतीमा नयाँ नाकाहरू पनि खोल्दै जानुपर्छ', महावाणिज्यदूत कार्कीले भन्नुभयो।

जानकारी तथा लेखहरु