फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुनचाँदी धितोमा बैंकहरूको साढे 37 अर्ब लगानी

(GMT+08:00) 2017-08-31 13:54:10

नेपालमा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा 22 प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गा, सेयरलगायतका धितोमा हुने लगानीलाई निरुत्साहित गर्ने नीति लिएपछि सुन धितोमा लगानी वृद्धि भएको कारोबार अनलाइनले लेखेको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले 2074 असारसम्म सुन र चाँदी धितो राखेर 37 अर्ब 43 करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो असारसम्म यस क्षेत्रमा लगानी 30 अर्ब 64 करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकले केही समयदेखि बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा बढेको भन्दै यसले जोखिम निम्त्याउने भन्दै केही महिनायता बैंकहरूलाई सचेत गराइरहेको छ। लगानीका क्षेत्रहरूको सिमितता र अनुत्पादक क्षेत्रमा लगानीको कडाइका कारण सुन धितोमा प्रदान गरीने उपभोग्य कर्जा वृद्धि भएको हो।

नेपाली समाजमा सुन तथा चाँदीलाई गहनाको रुपमा प्रयोग गर्ने भए पनि यसलाई अप्ठ्यारो पर्दा तुरुन्त रकममा परिवर्तन गर्न सकिने भएकाले बचतका रुपमा समेत लिइन्छ। सर्वसाधारणमा सुन किन्ने र आफूलाई अप्ठेरो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन छ। पछिल्लो समयमा लगानीका रुपमा समेत ढिक्का सुन किनेर राख्ने प्रचलन समेत रहेको व्यापारीहरू बताउँछन्।

सुनलाई नगद सरह मानिने र लगानी पनि सुरक्षित हुने भएकाले बैंकहरूले प्राथमिकता दिएर लगानी गर्दै आएका छन्। सुरु सुरुमा सुन किनेको पसलबाट धितो राखेर कर्जा लिने सर्वसाधारणहरू विस्तारै बैंक तथा वित्तीय संस्थामा आकर्षित हुन थालेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य सुनचाँदी धितोमा कर्जा दिने प्रचलन सुन व्यापारीबाटै सुरु भएको बताउनुहुन्छ। "पहिला पहिला व्यापारीले मात्र सुनधितोमा ऋण दिन्थे," उहाँले भन्नुभयो, "अहिले बैंकहरूले पनि यो काममा प्राथमिकता दिएका छन्।"

बैंकहरूले उपभोग्य शीर्षकअन्तर्गत छोटो समयमा लागि सुन धितो लिएर दिने गरेका छन्। सर्वसाधारणले पनि छिटो प्रक्रियाबाट कर्जा दिने भएकाले सर्वसाधारणले भने आफूलाई अप्ठेरो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन्।

ऋण लिने प्रक्रिया सरल भएको र छिटो हुनुका साथै व्याजदर पनि अन्य कर्जाको तुलनामा सस्तो रहेकाले सुनचाँदी धितो कर्जा सर्वसाधारणबीच लोकप्रिय छ।

घरजग्गामालगायत अन्य सम्पत्ती धितोमा ऋण लिन मूल्यांकनदेखि अन्य लामो प्रक्रिया पूरा गर्नुपर्ने भए पनि सुनचाँदी धितोमा कर्जा छिटो पाइने व्यवस्था छ। बैंकहरूले सुन धितोमा कर्जा लगानी गर्दा बजार मुल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर 50–70 प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन्। अहिले बैंकहरूले सुन धितोमा 10 देखि 15 प्रतिशतसम्म व्याजदरमा लगानी गर्ने गरेका छन्।

बैंकहरूले 2072 असोजसम्म 19 खर्ब 86 अर्ब रुपैयाँ लगानी गरेका छन्। उक्त लगानीमध्ये अधिकांश घरजग्गा तथा स्थिर सम्पति धितोमा लगानी हुने गरेको छ।

जानकारी तथा लेखहरु