फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ आर्थिक वर्षको पहिलो महिनामै 80 अर्ब व्यापार घाटा

(GMT+08:00) 2017-08-31 13:54:29

नयाँ आर्थिक वर्षको पहिलो महिनामै नेपालको व्यापार घाटा 80 अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो महिनाको तुलनामा यो वर्ष व्यापार घाटा 26 प्रतिशतले वृद्धि भएको कान्तिपुर अनलाइनले लेखेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा 79 अर्ब 99 करोड 70 लाख 91 हजार रुपैयाँले व्यापार घाटा भएको हो। गत आर्थिक वर्षको साउनमा भने 63 अर्ब 21 करोड 49 लाख 40 हजार रुपैयाँले व्यापार घाटा भएको थियो। तथ्यांकअनुसार पहिलो महिनामा नेपालमा 86 अर्ब 70 करोड 48 लाख 86 हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन्। निर्यात भने 6 अर्ब 70 करोड 77 लाख 95 हजार रुपैयाँ मात्रै भएको हो। निर्यात साढे तीन प्रतिशतले घटेको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षमा 6 अर्ब 95 करोड 8 लाख 11 हजार रुपैयाँको निर्यात भएको थियो।

पहिलो महिना भएको व्यापार घाटाकै अनुपात चालु आर्थिक वर्षका महिनाभरि हुने हो भने यो वर्षको व्यापार घाटा झन्डै 12 खर्ब रुपैयाँ पुग्ने सम्भावना देखिन्छ। गत आर्थिक वर्षमा सवा 9 खर्ब रुपैयाँले व्यापार घाटा भएको थियो। स्वदेशी उत्पादन वृद्धि हुन नसक्नु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामानमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो। विगतमा झैं साउन महिनामा सबैभन्दा बढी व्यापार घाटा भएका मुलुकमा भारत र चीन नै देखिएका छन्।

विभागको तथ्यांकअनुसार भारतबाट 55 अर्ब 72 करोड 96 लाख 61 हजार रुपैयाँको सामग्री साउन महिनामा आयात भए। निर्यात भने 3 अर्ब 63 करोड 96 लाख 34 हजार मात्रै भएको छ। जसले गर्दा भारतसँग व्यापार घाटा 52 अर्ब 9 करोड 27 हजार रुपैयाँ पुगेको हो। त्यस्तै चीनबाट साउन महिनामा 11 अर्ब 15 करोड 49 लाख 31 हजार रुपैयाँका सामग्री आयात भएको छ। निर्यात भने 15 करोड 40 लाख 88 हजार रुपैयाँ भएको हो। जसले गर्दा चीनसँग 11 अर्ब 8 लाख 43 हजार रुपैयाँले पहिलो महिनामा व्यापार घाटा भएको छ।

गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी व्यापार घाटा भारतसँग नै भएको थियो। वर्षभरिमा भारतबाट 6 खर्ब 41 अर्ब 17 करोड 24 लाख 38 हजार रुपैयाँको सामान आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। निर्यात भने 41 अर्ब 60 करोड 3 लाख 79 हजार रुपैयाँ मात्रै भएको थियो। उक्त आधारमा भारतसँग गत वर्ष व्यापार घाटा 5 खर्ब 99 अर्ब 57 करोड 20 लाख 59 हजार रुपैयाँ भएको हो।

तथ्यांकअनुसार पहिलो महिनामा नेपालले 98 मुलुकसँग व्यापार गरेको छ। यसमध्ये 83 मुलुकसँग व्यापार घाटा भएको तथ्यांकले देखाउँछ। अर्थात् यी मुलुकहरूसँग नेपालले सामानहरू निर्यातभन्दा बढी आयात गरेको हो। अघिल्ला वर्षहरूमा समेत यस्तै प्रवृत्ति देखिने गरेको छ। गत वर्ष 33 वटा मुलुकहरूसँग त 1 अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ। सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयासहरू गरे पनि उपलब्धि भने हासिल हुन सकेको छैन। सरकारले सुधारका प्रयासहरू सार्वजनिक गर्ने गरेको छ।

वार्षिक विकास कार्यक्रम बजेट, नीति तथा कार्यक्रम तथा अन्य सरोकारवाला मन्त्रालयहरूले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँ नयाँ नारा सार्वजनिक गर्छन्। तर, ती कार्यक्रमको सम्भाव्यता, प्रभावकारिता र अनुगमन भने सधैं फितलो हुने गरेको छ। व्यापार घाटा कम गर्न भन्दै 12 वर्षअघिबाट सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थापना भएको छ। मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रवद्र्धनात्मक कार्यक्रमसमेत भइरहेका छन्। तर, बेलाबेलामा सार्वजनिक भएको तथ्यांकअनुसार तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्थासमेत निराशाजनक छ।

http://kantipur.ekantipur.com/news/2017-08-31/20170831071945.html

जानकारी तथा लेखहरु