फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा

(GMT+08:00) 2017-09-01 16:07:03

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ। एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो। सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ इन्टरनेट सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको नागरिक अनलाइनले लेखेको छ।

एभरेस्ट लिंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छिरिङ शेर्पाले सन् 2002 बाटै सगरमाथा शिविरमा इन्टरनेट सेवा विस्तारका लागि अध्ययन सुरू गरेको बताउनुभयो। '15 वर्षअघिदेखि इन्टरनेटको विषयमा अध्ययन गरे पनि 2014 बाट काम सुरु गरेको हो। काम सुरुको चार वर्षमा इन्टरनेट सेवा सञ्चालन गरेका हौं,' उहाँले भन्नुभयो, 'इन्टरनेट सेवाबाट स्थानीय, पर्वतारोही पर्यटक, होटल व्यवसायीको साथै पोर्टरलाई सजिलो भएको छ।'

उहाँका अनुसार तराई क्षेत्रबाट माइक्रोवेभको माध्यमबाट सगरमाथा शिविरमा इन्टरनेट सेवा सञ्चालन गरिएको हो। आधार शिविरको लुक्ला, खुम्बु, चौरीखर्क, खुम्जुङ, खुन्दे, पाङ्बोचे, तेङ्बोचे, दिङ्बोचेमा इन्टरनेट सुविधा उपलब्ध छ । 2–3 ठाउँमा इन्टरनेट लिंक राखिएकाले कुनै समस्या नहुने उहाँको भनाइ छ।

काठमाडौंको तुलनामा सगरमाथा शिविरमा छिटो गतिको इन्टरनेट सेवा रहेको उहाँको दाबी छ। खुम्बु क्षेत्रका दुई सय 50 होटलमध्ये दुई सयभन्दा बढी होटललाई स्टेकहोल्डरका रूपमा राखिएको छ। नाफाको 40 प्रतिशत सामाजिक काममा प्रयोग गरिने जनाएको छ। यस इन्टरनेट सेवाबाट 41 जनाले रोजगारी पाएका छन्।

कम्पनीको प्रमुख प्राविधिक अधिकृत छेवाङ लामाले शिविरबाट सिधै इन्टरनेटबाट आफन्तसँग कुरा गर्न सहज भएको बताउनुभयो। 'स्वदेशलाई मात्र नभएर विश्वलाई समेत सगरमाथाको शिविर क्षेत्रलाई इन्टरनेटले जोडेको छ,' लामाले भन्नुभयो, 'कम्पनीले सय एमबी डाटाका लागि दुई सय र दुई सय एमबी डाटाका लागि पाँच सय डलर शुल्क तोकेको छ।'

सगरमाथाको आधार शिविरसम्म इन्टरनेटको सामान बोकेर लैजानुपर्ने भएका कारण उपत्यकाको तुलनामा महँगो भएको लामाको भनाइ छ। उहाँका अनुसार यस क्षेत्रमा नेपाल टेलिकम र एनसेलको टेलिफोन सेवा प्रभावकारी हुन सकेको छैन।

इन्टरनेट सेवाबाट आम्दानी भएको रकमले काठमाडौंमा दुई र स्थानीय अस्पतालसँग समन्वय गरेर आपतकालीन स्वास्थ्य सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ। पर्वतारोहण क्षेत्रमा पर्वतारोही बिरामी भएमा वा भवितव्य दुर्घटना भएमा उद्धारका लागि हेलिकोप्टर समेत चार्टर गर्ने कम्पनीले जनाएको छ।

सगरमाथा आरोहणका लागि प्रत्येक वर्ष वार्षिक 45 हजारसम्म पर्वतारोही आउने गरेका छन्। उनीहरुको सुविधाको लागि पनि इन्टरनेट सेवा प्रभावकारी हुने एभरेस्ट लिंक कम्पनीले जनाएको छ। पर्वतारोही, गाइड तथा पोर्टरलाई थप सेवा र सुविधाको लागि सञ्चालन गरिएको इन्टरनेट सेवाबाट जम्मा भएको रकमबाट हेलिकोप्टर चार्टर गर्ने लामाले बताउनुभयो।

जानकारी तथा लेखहरु