फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नुवाकोट दरवारको पुन निर्माणका लागि चिनियाँ प्राविधिकद्वारा सर्वेक्षण सम्पन्न

(GMT+08:00) 2017-09-02 15:16:31

          भूकम्पका कारण 27 महिना अगाडि क्षतिग्रस्त भएको नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालयको पुनःनिर्माणका लागि चिनियाँ पक्षले गरेको पहिलो चरणको सर्वे कार्य सकेको छ।भूकम्प लगत्तै नुवाकोटको विदुर नगरपालिका वडा नं. 1 मा रहेको ऐतिहासिक साततले दरबार राष्ट्रिय संग्रहालयको पुनःनिर्माण गर्ने चीनले प्रतिबद्धता जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

        चीन सरकार र नेपाल सरकारबीच सम्झौता भएर साततले दरबारको पुनः निर्माणको लागि चिनियाँ प्राबिधिकहरुले दुईसाता अगाडि दरबारको सर्भेक्षण सुरु गरेका थिए। चिनियाँ प्राविधिक टोलीको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले साततल्ले दरबारसहित वरिपरिका पुरातात्विक महत्व बोकेको दरबार र मठमन्दिरको पहिलो चरणको सर्भेक्षण सम्पन्न गरेको दरबार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटले जनाएको छ।

          भूकम्पका कारण क्षतिग्रस्त भएको संरचनाको गत साउन 19 गते भारी वर्षाले लिच्छविकालीन तलेजु भवनी मन्दिर तथा दरबारको पूर्वीमोहडा भत्किएपछि पुनःनिर्माणको लागि चीनले चासो दिएको हो। गत 2072 साल बैशाख 12 गतेको महाभूकम्पले साततले दरबार राष्ट्रिय संग्रहालयमा क्षति पुगेको थियो।

          दुई वर्षदेखि ऐतिहासिक साततले दरबार अझै टेकोकै भरमा अड्डिएको छ। चिनियाँ प्राविधिकको आठजनाको टोलीले दरबारको सर्बे गरेको हो। उनीहरुले द्रोण उठाएर दरबार क्षेत्रको तस्बिर लिने, माटो परीक्षणका लागि संकलन गर्ने, क्षतिग्रस्त स्थानको टिपोट गर्ने कार्य गरेको दरवार हेरचाह तथा संरक्षण कार्यालय नुवाकोटका प्रमुख अर्जुन फुयालले बताउनुभयो।

        नुवाकोट दरबारक्षेत्रमा लिच्छविकालीन नान्यदेव बनाएको तुलजा भवानी मन्दिर तथा दरबार मल्लकालीन रंगमहल र गारद दरबार, लामपाटी, सेतोपार्टी, लिच्छविकालीन विष्णु र नारायण मन्दिर र पृथ्वीनाराण शाहद्वारा निर्मित पहिले नौतले हाल साततल्ले दरबार, लोप भएको बहादुर शाहको बैठक कक्षको चिनियाँ प्राविधिकले सर्वे गरेका छन्।

         नेपाल एकीकरणका क्रममा पृथ्बी नारायण शाहले निर्माण गर्नुभएको नौ तले दरबार बिक्रम संबत 1990 सालको भूकम्पले सात तलामा झरेकको थियो। चीन सरकारले साततले दरबार र दरबार आसपासमा रहेका सबै सम्पदाहरुको पुनःनिर्माण गर्ने जनाएको छ। दरबार आसपासमा रहेका सबै संरचना, मठमन्दिर लगायतको पुनर्निर्माणका लागी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको नुवाकोट सम्पदा संरक्षण मञ्चले जनाएको छ। चिनियाँ पक्षले दुई मन्दिर नारायण र विष्णुलाई एउटा दरबारको रुपमा राखेर निर्माण गरिने भएको कार्यालयले जनाएको छ।

          ती दरबारहरु मर्मत गरेर हुनसक्ने भए मर्मत, रेट्रोफिट र अरु पुनर्निर्माण हुनसक्ने कार्यालय प्रमुख फुयालले बताए। पहिलो चरणको सर्भेक्षण सकिए लगत्तै दरबार परिसरमा रहेको माटो, दरबारको अबस्था लगायतको पाबिधिक जाँच पछि पुनःनिर्माण सुरु गर्ने पुरातत्व बिभागले जनाएको छ। सो दरवार संग्रहालय अहिलेसम्म मर्मत हुन नसक्दा राजश्वसमेत घाटा लागिरहेको छ। भूकम्प अगाडि दरवार प्रवेश गर्नेसँग शुल्क लिएर राजश्व दाखिला गर्ने गरिएको थियो।

          चीनले नेपाल सरकारको पुरातत्व विभागको सहमति लिएर पुर्ननिर्माणका लागि पहिलो चरणमा गरेको सर्भे सकेको हो। चिँनिया प्राविधिक टोलीले स्थलगत रुपमा गरेको दरवारको क्षतिको मुल्यांकन तयार गरेपछि दरवारको पुर्ननिर्माण सुरु गर्नेछ।चिँनिया प्राविधिक टोलीले साततले दरवारको स्थलगत रुपमा ड्रोन क्यामेरामार्फत स्थलगत निरीक्षण गरेको हो।

         सो क्षेत्रमा चारैतिर र दरवारभित्र ड्रोन क्यामेरा उडाएर सर्भे कार्य गरिएको थियो। सर्भे कार्यमा चीनको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजका टोलीको नेतृत्व वरिष्ठ इन्जिनियर ह्वाङले गरेका हुन्। ह्वाङले आफुले स्थलगत सर्भे सकेको आफ्नो कम्पनीलाई स्थलगत स्थितिका सम्बन्धमा जानकारी दिने र पुर्ननिर्माणको काम सुरु हुने बताए।

         सो कम्पनीले 15 वर्ष अगाडि तिव्वतको पोताला दरवारको पुर्ननिर्माण गरेको थियो। विनाशकारी भूकम्पपछि चीन सरकारले गत 2072 साल साउन महिनामा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको पहलमा चीनका राजदुतसहितको टोलीले साततले दरवार राष्ट्रिय संग्रहालयमा पुगेर साततले दरवार मर्मतका लागि प्रतिवद्धता जनाएको थियो। पुर्ननिर्माणको प्रतिवद्धता जनाएको दुई वर्षपछि चिनले स्थलगत रुपमा पुर्ननिर्माणको कार्य सुरु गरेको हो। चिनले साततले दरवारसंगै गारदघर, रंगमहल, तलेजु भवानीको मन्दिर, लामपाटी, सेतोपाटी, नारायण र विष्णुको मन्दिर पुर्ननिर्माण गरिदिने भएको छ।

          पृथ्वीनारायण शाहले 1801 साल असोज 15 गते नुवाकोट टाकुरोमाथि विजय गरिसकेपछि सेनाद्घारा 1816 सालमा निर्मित दरवार समयमै मर्मत नहुंदा भग्नमावशेष हुने खतरा बढेको थियो। गीर्वाणयुद्ध विक्रम शाहको पालमा 25 वर्षसम्म सोही दरवारवाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो। आकर्षक तथा भीमकाय संरचना रहेको साततले दरवारलाई चारैतर्फबाट काठ र फलामको डण्डीले टेको लगाएर अड्याइएको छ।

          टेको लगाइएको ठाउको पर्खालका इट्टाहरु क्रमशः उप्किँदै जान थालेपछि झन् अर्को जोखिम देखापरेको दरवारका पाले गोविन्द बानियाले बताए। भूकम्पपछि दरवारको पूर्वी मोहडा रहेको दरबार अगाडि र उत्तरीभाग भूकम्पले भित्ताको इँटाको गाह्रो चर्किएको छ। दक्षिण र पश्चिमभाग 'आज कि भोलि' भनेझैं जीर्ण स्थितिमा रहि ढल्ने पुगेको छ। तेस्रो तला पूरै कलात्मक झ्यालहरु रहेका छन् भने त्यो भन्दा माथिको भाग चौघेरा जीर्ण भएको छ।

           सो दरवारलाई सात वर्ष अगाडि सरकारले राष्ट्रिय संग्रहालयको रुपमा घोषणा गरी सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। भूकम्पपछि कुनै आगन्तुकलाई प्रवेश गर्न नदिइएको मात्रै होइन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको कर्मचारीसमेत बुझ्नका लागि लामो समयदेखि भित्र पसेका थिएनन्।दरबारको पूर्वतर्फ रहेको गारदघर भूकम्पका कारण भग्नावशेषमै परिणत भएको छ। साततले दरबार गल्र्यामगुर्लुम्म नढलेपनि लामो समय टोकेको भरमा राखेमा त्यही हालत हुने भन्दै सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

          नेपालमा गणतन्त्र घोषणासंगै नुवाकोट संग्राहलयमा परिणत गरिएको साततले दरवारमा पुराना र ऐतिहासिक सामग्रीहरुलाई सुरक्षित साथ राखिँदै आएको छ। भुकम्पका कारण भित्र पस्नै नमिल्ने भएको संग्रहालयमा राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्रीहरु, पृथ्वीनारायण शाह र उहाँका रानीहरुको प्रतिमा, सुरक्षित गरिएको छ। यस अघि पनि 1990 सालको भूकम्पले उक्त दरवारमा असर परेको थियो। त्यसबेला नौ तल्ला रहेको दरबार लडेर सात तलामा झरेको थियो।

          नुवाकोटको साततले दरबारको पुनः निर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको पुरातत्व बिभागले जनाएको छ। बिभागका अनुसार चीन सरकारको सहयोगमा नुवाकोट दरबार परिसरमा रहेका गारदघर, तलेजु भवानी मन्दिर, रंगमहल लगायतको सम्पदाको पुर्न निर्माण हुने भएको छ। सोही अनुसार चीन सरकारबाट स्थलगत निरिक्षण सम्पन्न गरेको हो। अघिल्लो वर्ष नै गत असोजबाट दरवारको पुर्न निर्माणको सुरु हुनुपर्नेमा चिँनिया प्राविधिकले स्थलगत सर्भे गरेपछि अब भने पुर्ननिर्माण हुने आशा जागेको स्थानीय युवा सामाजिक कार्यकर्ता महेन्द्र श्रेष्ठले बताए। जीर्ण र जेखिमयुक्त रहेका कारण पर्यटकहरु टाढैवाट दरवार हेरेर फर्कने गरेका छन्। साततले विदुरवाट सात किलोमिटर उत्तरमा रहेको छ।

जानकारी तथा लेखहरु