फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनी थ्री गर्जेजले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको सव स्टेसन र प्रसारण लाइन परीक्षण शुरु

(GMT+08:00) 2017-09-03 15:01:19

       चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीजीजीसी)ले निर्माण गरिरहेको दार्चुलाको बलाँचस्थित निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाका दुईवटा सव स्टेसन र प्रसारण लाइन आइतबारबाट परीक्षण गरिनेभएको गोरखापत्र अनलाइनले लेखेको छ। आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार आयोजनाको पावरहाउस बलाँचस्थित सवस्टेसन र कैलालीको अत्तरिया सवस्टेसन आइतबार परीक्षण गर्न प्राविधिकको अन्तिम तयारी भइसकेको छ। त्यसैगरी बलाँचदेखि अत्तरिया सव स्टेसन जोड्ने 132 केभीको प्रसारण लाइनको तार पनि परीक्षण गरिने भएको छ।

       परीक्षणमा संलग्न हुने आयोजना, आयोजना ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयका इन्जिनियर फिल्डमा खटिसकेका छन्। आयोजना प्रमुख दाहालले भन्नुभयो– आयोजना, निर्माण गर्ने ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र प्राधिकरण केन्द्रीय कार्यालयका प्राविधिकको टोलीले संयुक्त रूपमा परीक्षणमा भाग लिनेभएका छन्।

         दुई वटा सव स्टेसन र 131 किलोमिटर लामो प्रसारण लाइन परीक्षण गर्न कम्तीमा दुई हप्ता समय लाग्ने बताइएको छ। सरकारले कोसी, गण्डकी, कर्णाली र महाकाली जलाधारमा आधारित रहेर एकीकृत रूपमा जलविद्युत्को विकास गर्ने नीति अवलम्बन गरिरहेका बेला महाकाली करिडोरको उत्तर दक्षिण जोड्ने पहिलो प्रसारण लाइन र जलविद्युत् आयोजना हो।

        बलाँचदेखि अत्तरियासम्म डलल सर्किटको प्रसारण लाइन निर्माण गर्ने योजना भए पनि हाल निर्माण सम्पन्न भइसकेको सिङ्गल सर्किटको परीक्षण गरी चमेलियाको 30 मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने प्रयासमा प्राधिकरण लागिरहेको छ।

       आयोजना प्रमुख दाहालले भन्नुभयो– डबल सर्किट बनाउने योजना अनुरूप काम भइरहेको छ। डबल सर्किट बनाउन कैलाली र डोटी क्षेत्रमा पर्ने केही रूख काट्न बाँकी रहेकाले डबल सर्किट बनाउन सकिएको छैन। त्यसैले तत्काल सिङ्गल सर्किट परीक्षण गरी चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्य सुरु गरिएको हो।

        चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने भएको छ। सव स्टेसन र प्रसारण लाइनको परीक्षण सुरु भएपछि आगामी डिसेम्बरभित्र यो आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने निश्चित भएको छ। यद्यपि आयोजनाका अधिकारीले भने निर्धारित समयको एक महिनाअघि सेप्टेम्बर महिनाभित्रै उत्पादन दिन सकिने दाबी गरेका छन्।

         सन् 2007 मा निर्माण सुरु गरी सन् 2011 को डिसेम्बर महिनामा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो संशोधित लक्ष्य सन् 2017 को डिसेम्बर पुर्‍याइएको छ। अत्यन्तै सहज र सरल तरिकाले सम्पन्न गर्न सकिने सूचीमा रहेको दार्चुलाको चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण सुरु भएको दस वर्षपछि बिजुली बल्ने भएको छ।

        चमेलिया जलविद्युत् आयोजनाको सुरुको अनुमानित लागत आठ अर्ब 50 करोड रुपियाँ थियो तर झण्डै 10 वर्षको अवधिसम्म 15 अर्ब 50 करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। आयोजनाको सिभिलतर्फको काम सन् 2007 मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् 2009 को मे महिनाबाट सुरु गरिएको थियो। प्रसारण लाइनतर्फ भने दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको 131 किलोमिटर दूरीमा 412 टावर निर्माण गरिएका छन्। सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीजीजीसी) ले काम गरिरहेको छ भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले काम गरिरहेको छ।

जानकारी तथा लेखहरु