फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ र नेपाली लगानीमा खुल्ने सिमेन्ट उद्योगका लागि लगानी सम्झौता

(GMT+08:00) 2017-09-04 15:55:51

चिनियाँ र नेपाली कम्पनीको संयुक्त लगानीमा स्थापना हुन लागेको सिमेन्ट उद्योग स्थापनाका लागि पौने ३७ अर्ब रुपैयाँ बराबरको परियोजना लगानी सम्झौता (पीआईए) भएको छ। मुलुकको सिमेन्ट उद्योगमा सबैभन्दा ठूलो लगानी मानिएको होङ्सी शिवम् सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने कारोबार अनलाइनले जनाएको छ।

लगानी बोर्डले होङ्सीलाई दुई वर्षअघि लगानीका लागि अनुमति दिएको थियो भने गत साउन दोस्रो साता प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले पीआईए मस्यौदालाई स्वीकृत गरेको थियो। नेपालमा निजी क्षेत्रको लगानीलाई व्यवस्थित गर्नेगरी गरिएको यो प्रकृतिको सम्झौता पहिलो हो । कारखाना स्थापनाका लागि आइतबार पीआईए सम्पन्न भएको हो।

अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनीयाँ राजदूत यू होङको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र प्रवद्र्धक होङ्सी शिवम् सिमेन्ट प्रालिका निर्देशक एवं महाप्रबन्धक लाई वेईपेङ्बीच सम्झौता सम्पन्न भएको हो। कारखानामा चीनको होङ्सी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङको ७० प्रतिशत र नेपाली शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहनेछ।

नवलपरासीको बेणीमनिपुर गाविसस्थित बेलुवामा निर्माण हुने होङ्सी शिवम् सिमेन्ट उद्योगले यसका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा स्थापना गर्ने जनाएको छ। कारखानाले कारखानाले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी ( प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने बोर्डले जनाएको छ । सिमेन्ट कारखानाले सन् २०१८ भित्र उत्पादन गरिसक्ने लक्ष्य छ।

जानकारी तथा लेखहरु