फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन सम्बन्ध अझै उचाइमा जानुपर्ने चिनियाँ अधिकारीहरूको धारणा

(GMT+08:00) 2017-09-05 14:47:37

नेपाल–चीन सम्बन्ध अझै उचाइमा जानुपर्ने धारणा चिनियाँ अधिकारीहरूले राखेका छन्। चीनको अत्यन्तै महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी परियोजना वान बेल्ट वान रोड (ओबोर)मा नेपालले सहभागिता जनाएकामा प्रसन्न चिनियाँ अधिकारी यस दिशामा नेपालबाट चाहिँदो चासो र शीघ्र सक्रियता नदेखाइएकामा भने अन्योलमा परेका छन्।

अल चाइना जर्नलिस्ट एसोसिएसन (एसीजेए)को निमन्त्रणामा चीन पुगेको नेपाली पत्रकार प्रमण्डलसँग गत साता अन्तरक्रिया गर्दै चिनियाँ अधिकारीले यस्तो धारणा व्यक्त गरेको गोरखापत्र अनलाइनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयको थिङ्कट्याङ्क चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिज (सीआईआईएस)का वरिष्ठ अनुसन्धाता प्राध्यापक जिआङ युइचुनले हजारौँ वर्ष अघिदेखि रहँदै आएको नेपाल–चीन सम्बन्धलाई 'ओबोर' परियोजनाले निकै माथि उठाउने धारणा व्यक्त गर्नुभएको छ।

चीन वरिपरिका सबै देशसित सहयोग र साझा विकास गरेर शान्तिपूर्ण विकासका माध्यमबाट अघि बढ्न लागेको दाबी गर्दै सबैको आर्थिक, व्यापारिक, सामाजिक आदि विकास हुने भएकाले नै धेरै देशले यस प्रस्तावलाई समर्थन जनाइसकेको र बाँकी देशले पनि समर्थन जनाउँदै जाने अपेक्षा उहाँले राख्नुभएको छ।

जापान तथा संयुक्त राज्य अमेरिकाले यस परियोजनाको आलोचना गर्ने गरेको भए पनि पछिल्लो समयमा जापानको धारणासमेत नरम हुँदै आएको उहाँको विश्लेषण छ। यस परियोजनालाई चिनियाँ शक्ति विस्तारका रूपमा गलत व्याख्या भइरहेको स्थिति दर्शाउँदै प्राध्यापक जिआङले सम्भवतः आसन्न 'ब्रिक्स' सम्मेलनताका यसप्रति भारतको पनि सकारात्मक धारणा आउने आशा भारतीय विज्ञजनसितको छलफलका आधारमा आफूले राखेको बताउनुभएको छ।

छिमेकी दुवै ठूला मुलुकलाई अनुकूल बनाउँदै जानुपर्ने नेपालको वस्तुस्थिति आफूले राम्ररी बुझेको जनाउँदै नेपाल, चीन तथा भारतबीच सम्बन्ध विस्तार गर्न मुस्ताङको कोरला नाका पनि उपयुक्त रहेको धारणा उहाँले व्यक्त गर्नुभएको छ।

दुई, तीन वर्षयता ओबोरसम्बद्ध धेरै योजना बनाइएको र तिनमा केही कार्यान्वयनमा समेत आइसकेको जनाउँदै उहाँले 'चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर'लाई उदाहरणीय योजना जनाउनुभएको छ। बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)समेत भनिने 'ओबोर' परियोजना रणनीति होइन, कार्यक्रम हो र यो सबैका लागि अवसर हो भने सहकार्य र खुलापनको नमुना पनि हो, थप भनाइ उहाँको छ।

चीन पहिले विदेशी लगानी भित्र्याउने देश भएकामा अहिले विश्वभरि लगानी गर्ने देशको लाममा दोस्रो पङ्क्तिमा रहेको जनाउँदै उहाँले पहिलेको अनुभव सँगाली विकासोन्मुख देशसित मिलेर साझा विकास गर्ने परियोजनाका रूपमा 'ओबोर' रहेको बताउनुभएको छ। चीन सरकार ओबोर कार्यान्वयनका निम्ति नेपाललाई आवश्यक हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको जानकारी युनान एकेडेमी अफ सोसल साइन्सका उपनिर्देशक प्राध्यापक गुओ सुइयानले दिनुभएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा उक्त अवधारणा अघि सार्नुभएको हो।

जानकारी तथा लेखहरु