|
|
|
||
गत वर्ष फागुनमा नेपालले काठमाडौंमा गरेको लगानी सम्मेलनमा अरु सबै लगानीकर्तालाई उछिनेर चिनियाँ पक्षबाट आठ खर्ब ३० अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो तर सम्मेलन सकिएको ६ महिना बितिसक्दा पनि उक्त रकम भित्र्याउने प्रक्रिया सुरु भएको छैन। उक्त सम्मेलनमा १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो, जसमा चिनियाँ पक्षको हिस्सा ६१ प्रतिशत थियो। चिनियाँले सडक, खानी र जलविद्युतमा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए।
लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार लगानी सम्मेलनमा प्रतिबद्धता जनाएका कुनै पनि कम्पनीले रकम भित्र्याउने प्रक्रिया थालेका छैनन्। नयाँ संविधान लागु भइसकेको सन्दर्भमा नेपालमा राजनीतिक स्थिरताको आशामा देखिन्छन्, चिनियाँहरु। लगानीका ठूला प्रतिबद्धता आउनुको कारण पनि त्यही थियो। तर, अझै चिनियाँ लगानीकर्ताहरुमा नेपालमा लगानी गर्ने हिचकिचाहट देखिएको अनलाइन खबरले लेखेको छ।
बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरुका अनुसार लगानी सम्मेलनअघि नै थुप्रै पटक चिनियाँ उद्योगीहरुसँग छलफल भएको थियो । छलफलमा सहभागी करिब १८ वटा कम्पनीले नेपालमा लगानी गर्ने इच्छा देखाएका थिए। त्यसको आधाभन्दा कमले मात्र काठमाडौंमा आएर लगानीको प्रतिबद्धता जनाए। तर, त्यो पनि कार्यान्वयन भएन। ३० साउनमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आउने भएपछि राजदूत लीलामणि पौडेलले लगानीकर्ताहरुलाई पत्र नै पठाएर आफू नेपाल जान लागेकाले केही सहयोग गर्न सकिन्छ कि भनेर सोध्नुभएको थियो।
अधिकारीहरुका अनुसार नेपालमा सरकारी निकायहरुबीच देखिएको समन्वय अभाव एक कारण हो। लगानी लिएर आएको व्यक्ति/कम्पनीले मन्त्रालय र विभागहरुको फेरो मार्नुपर्ने झण्झट अझै हटेको छैन। चिनियाँ लगानी होङ्सी शिवम् सिमेन्टले मात्र भित्र्याएको छ।
१० अर्बभन्दा माथिका लगानीकर्ताले लगानी बोर्डमार्फत् आउनुपर्छ। यस्तै, दुई अर्बसम्मका लगानी उद्योग विभागले स्वीकृत गर्छ, १० अर्बसम्मका लागि औद्योगिक प्रवद्र्धन बोर्डले स्वीकृति दिन्छ। तर, उद्योग विभाग र औद्योगिक प्रबद्र्धन बोर्ड दुवैमा चिनियाँ लगानीकर्ता प्रक्रियामै छैनन्।
लगानी सम्मेलनपछि कार्यान्वयनको चरण थाल्न तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले तीन वटा समिति बनाएकोमा हाल मन्त्री नियुक्त नहुनु र तीन वटै समितिको बैठक बस्न नसकेकाले यस्तो समस्या देखापरेको हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |