फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या बढ्दो

(GMT+08:00) 2017-09-08 14:42:25

रोजगारीका लागि मलेसिया जाने क्रम पुनः बढेको छ । आर्थिक वर्ष ०७२-७३ को तुलनामा काम खोज्न मलेसिया जाने कामदारको संख्या करिब १० प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष ०७३-७४ मा ९८ हजार चार सय ३७ कामदार नयाँ श्रम स्वीकृति लिएर गएपछि मलेसिया तेस्रो गन्तव्यबाट दोस्रो बन्न पुगेको हो । मलेसिया जाने कामदारको संख्या बढे पनि आर्थिक वर्ष ०७३-७४ मा नेपालका लागि पहिलो गन्तव्य भने कतार हुन पुगेको छ।

आर्थिक वर्ष ०७२-७३ मा कतार दोस्रो र साउदी अरेबिया पहिलो गन्तव्य थिए। त्यतिखेर मलेसिया तेस्रो गन्तव्य थियो । आर्थिक वर्ष ०७२-७३ को तुलनामा करिब चार हजार कम कामदार कतारी रोजगारदाताले लिए पनि कतार कुल कामदारमध्ये ३१ प्रतिशतको रोजाइमा परेर पहिलो गन्तव्य बन्न पुगेको हो । कतारमा आर्थिक वर्ष ०७२-७३ मा एक लाख २९ हजार ३८ कामदार गएकोमा आर्थिक वर्ष ०७३-७४ मा एक लाख २५ हजार आठ सय ९२ गएका छन्।

पछिल्लो वर्ष साउदी अरेबियालाई करिब पाँच प्रतिशतले पछि पार्दै मलेसिया दोस्रो गन्तव्यमा उक्लिएको हो । आर्थिक वर्ष ०७२-७३ मा साउदी अरेबिया जानेको संख्या एक लाख ३८ हजार पाँच सय २९ थियो । आर्थिक वर्ष ०७३-७४ मा साउदी अरेबिया जानेको संख्या ७६ हजार आठ सय ८८ छ ।

नागरिक न्यूज डटकमका अनुसार अघिल्लो वर्ष पहिलो गन्तव्यमा रहेको साउदी अरेबियामा आर्थिक वर्ष ०७३-७४ मा जाने संख्या घटेपछि त्यसको कारण खोज्न थालिएको छ। मलेसिया र कतारको आर्थिक अवस्था राम्रो नहुँदा नहुँदै पनि साउदी जानेको संख्या घटेपछि वैदेशिक रोजगार विभागका कर्मचारीले थालेको सरसर्ती अध्ययनले साउदीका रोजगारदाता कामदारमैत्री हुन नसकेको देखाएको छ।

विभागका एक अधिकारीले पछिल्लो समयमा साउदीका रोजगादारताले मनपरी गरिरहेको भन्दै कामदारले गुनासो र उजुरी गर्ने क्रम बढेपछि नयाँ कामदारलाई सोही देश जान समस्या भइरहेको बताए।

नेपाली कामदार मलेसियन रोजगारदाताबाट समेत उत्तिकै सताइने गरे पनि मलेसियाको खुल्ला समाज र हावापानीले साथ दिइरहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन्। पछिल्लो समयमा खाडी मुलुक र मलेसियाको रोजगारीलाई धेरैले मन नपराउने गरे पनि अन्य विकल्प नहुँदा समस्या भइरहेको व्यवसायी बताउँछन्। नेपालले अब खाडी मुलुक र मलेसियाको विकल्प खोज्नुपर्ने बेला आए पनि सरकारी निकायले नयाँ र राम्रा गन्तव्य खोज्ने कामलाई प्राथमिकतामा नराख्दा कामदारले राम्रो आर्थिक प्रगति गर्न नसकेको धेरैको भनाइ छ।

हाल नेपालले विश्वका एक सय १० देशमा रोजगारीका लागि श्रम स्वीकृति दिने गरे पनि करिब ९५ प्रतिशत कामदार खाडी मुलुक र मलेसिया नै जाने गरेका छन्। विभागका अनुसार हालसम्म करिब ४४ लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष ०७३-७४ मा नयाँ र पुरानो श्रम स्वीकृति लिएर ६ लाख ५५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएको विभागका निर्देशक मोहन अधिकारीले बताए। कतार, मलेसिया र साउदी अरेबियापछि धेरै कामदार जाने गन्तव्य संयुक्त अरब इमिरेट्स, कुबेत, बहराइन, ओमान, जोर्डन हुन्।

जानकारी तथा लेखहरु