फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानीको राम्रो अवसर छः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा

(GMT+08:00) 2017-09-11 15:41:08

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गर्नुभएको छ।

क्वानतोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आर्इतबार आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्रियामा उपप्रधान मन्त्रीले दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानी केन्द्रित गरेको र अन्तरदेशीय रेल मार्ग, सडक मार्ग, ट्रान्समिसन लाइन र हवाई मार्गमा लगानीका लागि उपयुक्त अवसर रहेको बताउनुभएको छ।

नेपाल र चीनबीच 'एक क्षेत्र एक मार्ग'मा सम्झौता भइसकेको उल्लेख गर्दै उपप्रधान मन्त्रीले त्यसलाई दुवै देशले सही तवरले प्रयोग गर्नुपर्ने बताउनुभएको प्रेस संयोजक हरि लामिछाने जानकारी दिएका छन्।

उपप्रधानमन्त्री महराले जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि, उत्पादन उद्योग, दूरसञ्चार, सूचना प्रविधि तथा सेवा क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसर रहेकाले यस क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा लिन सकिने जानकारी पनि दिनुभयो।

चिनियाँ पर्यटनका लागि नेपालले राम्रो अवसर प्रदान गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री महराले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत विश्व चर्चित नेपालका विभिन्नस्थलको अवलोकन गर्न आग्रहसमेत गर्नुभयो। नेपालमा वैदेशिक लगानी भित्र्याएर आफ्नो चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपालले चाहेको उल्लेख गर्दै उहाँले यस अवसरलाई सदुपयोग गर्न आग्रहसमेत गर्नुभयो।

चिनियाँ व्यापारीका लागि नेपालमा लगानी गर्न नेपाली महावाणिज्यदूतावास माध्यम भएको बताउँदै उहाँले एक हजारभन्दा बढी नेपाली रहेको क्वानतोङ प्रान्तमा नेपाली वाणिज्य दूतावासको स्थापनासँगै नेपाली व्यापारी, विद्यार्थी तथा अन्य नेपालीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। चीनसँगको कूल व्यापारमध्ये ६० प्रतिशत क्वानतोङ प्रान्तबीच रहेको बताइएको छ।

परराष्ट्रमन्त्री महराले व्यापार, यातायात र शिक्षाका लागि विश्वकै केन्द्र बन्दै गएको ग्वाङन्दोङ प्रान्तसँगको व्यापार विस्तारमा यहाँस्थित जनताको आर्थिक तथा व्यापारमा सहभागिताले निर्धारण गर्ने उल्लेख गर्नुभयो।

अन्तरक्रियामा सहभागी व्यापारी तथा लगानीकर्ताका प्रश्नको जवाफमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि हुँदै गएकाले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। अन्तक्रियामा चिनिँया तथा नेपाली गरी १०० जना व्यापारी तथा लगानीकर्ता सहभागी भएको यहाँस्थित महावाणिज्यदूत रवि भट्टराईले जानकारी दिनुभएको राससले लेखेको छ।

जानकारी तथा लेखहरु